
शत्रुघन खरबिन्द, कपिलवस्तु जेठ १२
कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१०चेतरादेईमा सर्पको टोकाइबाट एक युवकको मृत्यु भएको छ। चेतरादेई बस्ने २२ वर्षीय राजन कुर्मीलाई सुतिरहेको अवस्थामा सर्पले टोक्दा ज्यान गएको हो। जेठ ११ गते राति सुतेको अवस्थामा अचेत अवस्थामा भेटिएका कुर्मीको मृत शरीर पोष्टमार्टमका लागि कपिलवस्तु अस्पताल लगिएको थियो। आज प्राप्त रिपोर्ट अनुसार सर्पले टोक्दा मृत्यु भएको पुष्टि भएको छ। राजनका बुवा–आमा पहिले नै बितिसकेका थिए भने दुई दिदीबहिनीको विवाह भइसकेको छ। अहिले उनको परिवारमा ११ वर्षीय भाइ सजन कुर्मी मात्रै रहेका छन्। परिवारका एक्ला सदस्य रहेका सजनले नै आज रामघाटमा दाजुलाई दागबत्ती दिएका छन्। यी हृदयविदारक घटनाले चेतरादेई गाउँलाई भावुक बनाएको छ। मृतक राजन कुर्मी तिलाैराकोट साझेदारी वन उपभोक्ता समितिमा वन पालेको रूपमा कार्यरत रहेका थिए ।
