राजेन्द्र महताेले छाडे लोसपा, नयाँ मोर्चा घोषणा

काठमाडौँ — लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्याग गर्दै नयाँ मोर्चा घोषणा गरेका छन् । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महतोले पार्टी छोडेका हुन् ।

उनले ‘बहुराष्ट्रिय राज्य’ स्थापनाका लागि आफ्नो अभियान चल्ने घोषणा गरेका छन् । बहुल राष्ट्रिय राज्य स्थापनार्थ राष्ट्रिय मुक्ति क्रान्तिको नाममा उनले आजबाट बृहत् प्रशिक्षण कार्यक्रम गर्दैछन् । तीन दिनसम्म यो कार्यक्रम चल्नेछ ।

‘हामी पहिचानवादीहरु पनि एकल आयामिक गोलचक्करमा फसेकै कारण विगत चार दशक अगाडी सुरु भएको पहिचानावादी आन्दोलन शासकीय षडयन्त्रको शिकार भइ अधुरो रहन गयो । शासन पनि एकल नश्लीय त्यस विरुद्धको आन्दोलन पनि एकल आयामिक । त्यसैले त उत्पीडनमा परेका जनताले चाहेको जस्तो राजनीतिक उपलब्धि प्राप्त गर्न सकेन, देश पनि बन्न सकेन’ महतोले भनेका छन्, ‘अब गहिरो संकथन गरी अधिकार र पहिचानवादी आन्दोलन बहुआयामिक हुनु जरुरी भइसकेको छ अब हिमाल, पहाड, तराईका अधिकार तथा पहिचानवादी सम्पूर्ण उत्पीडित राष्ट्रियताहरु तथा देशमा सुशासन र समृद्धि चाहनेहरु सबै संयुक्त रुपमा एकताबद्ध भई बहुल राष्ट्रिय राज्य निर्माणको निम्ति राष्ट्रिय मुक्ति क्रान्ति अर्थात सम्पूर्ण क्रान्ति आवश्यक भैसकेको छ ।’

© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group