काठमाडौँ — उपराष्ट्रपति रामसहायप्रसाद यादवले विद्यार्थीहरुमा ज्ञान, सीप र कौशलको विकास तथा सकारात्मक सोच, मूल्य मान्यता, मनोभाव र व्यवहारको पृष्ठपोषणमा गुणस्तरीय सिकाइ र शैक्षणिक स्रोतहरु अति आवश्यक रहेको बताएका छन् । उनले विद्यार्थीहरुले विभिन्न वातावरण र विविध तरिकाबाट शिक्षण सिकाइ क्रियाकलापमा सक्रिय हुँदै आ–आफ्नो सिकाइ गर्न सक्ने बताए ।बालबालिकाको सिकाइलाई पाठपुस्तकले बाँधिनु र कक्षाकोठाहरुमा मात्र सीमित गर्न नहुने उनको भनाइ थियो ।
काठमाडौंको प्रज्ञा भवनमा बिहीबार आयोजित ‘पाठ्य पुस्तक अडिट सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक तथा राष्ट्रिय शैक्षिक नीति संवाद’ कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले यस्तो बताएका हुन् । ‘विद्यार्थीहरुको सिकाइलाई शैक्षिक सामग्री र अनुभवका आधारमा विविधतायुक्त बनाउन सक्नुपर्दछ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था अनुरुप समय अनुकूल पाठ्यक्रम र पाठ्यपुस्तक विकास गर्नु जरुरी छ,’ उनले भने ।
उपराष्ट्रपति यादवले पाठ्यपुस्तकहरुमा नेपालको बहुसंस्कृति, बहुपहिचानका विषयवस्तुहरु समेटन चुक्न नहुने बताए । ‘यसो भए मात्र विद्यार्थीका शिक्षण सिकाइ क्रियाकलाप माटो, समाज र देश सुहाउँदो हुनुको साथै शसक्त, जीवनोउयोगी, सीपयुक्त, कौशलयुक्त र स्वरोजगारयुक्त बन्न सक्छ,’ उनले भने, ‘हाम्रा पाठ्यपुस्तकहरु विद्यार्थी केन्द्रित, व्यापक र आत्मनिर्भर हुनुपर्दछ ।’
उनले प्रतिस्पर्धाको यो आधुनिक युगमा पाइला–पाइलामा अवरोध र बाधाहरु झेल्नुपर्ने भएकाले कठोर मिहिनेत, लगनशीलताबाटै ती सबैलाई छिचोल्न सकिने बताए ।