
परशुराम यादव,कपिलवस्तु
नयाँ संविधान २०७२ बन्दाको बखत संविधानमा धर्मनिर्पेक्ष राज्य लेख्दा त्यतिसार्है असन्तुष्टि देखिएन । सवैले समान्य रूपमा स्वीकार गरेको देखियो । सवभन्दा किचलो सिमाङ्कनमा देखियो जुन अहिले पनि समय समयमा उठने गरेका छन् । तर जतिजति समय बित्दै गयो धर्म निर्पेक्षतामाथि टिकाटिप्पणी हुन् थाल्यो । निर्पेक्षताको कित्तामा उभिएका ठूला दलका कतिपय नेताहरु खुलेआम हिन्दू धर्मको समर्थनमा अभिव्यक्ति दिदै आएका छन् । यहाँनिर प्रश्न के उठछ भने उनीहरु त्यतिखेर धर्मनिर्पेक्षता नबुझेर स्वीकार गरेका हुन वा कसैको दबावमा बाध्यात्मक अवस्थामा स्वीकार गरेका हुन् वा अहिले हरेक शव्दमा उठने गरेको डलर लिएर स्वीकार गरेका हुन ? वा धर्मनिर्पेक्षता राष्ट्रिय आवश्यकता हो ? यि र यस्ता प्रश्नको जवाफ संबिधान निर्माण प्रक्रियामा सहभागी भएका दल र तिनका नेताहरुले दिनै पर्ने हुन्छ ।
राज्ज संचालनमा धर्मका मठाधिशहरुले पटक पटक गर्ने गरेका हस्तक्षेप र धर्मको नामममा कुनै एक व्यक्ति वा परिवारबारले इश्वारको अवतार हुने र सोही नाममा पुस्तौं पुस्ता नागरिकमाथि शासन, शोषण र दमन गर्ने मध्ययुगकालिन सोचबाट माथि उठी धर्म र राज्य संचालनबीचको सम्बन्ध विच्छेद गर्न धर्मनिर्पेक्षताको सिद्धान्त अठारौं शताव्दीमा राजनीतिमा प्रबेश गरि अधिकांश देशमा सफल रूपमा कार्यन्वयन भएका छन् । तर अफसोच एकाइसौं शताव्दीमा पनि धर्मनिर्पेक्षताको गलत व्याख्या गर्दै यसको खिलाफमा आवाज उठाइदै छन् । धर्म व्यक्तिको हुन्छ, राज्यको कुनै धर्म हुँदैन । राज्यभित्र बस्ने हरेक नागरिकले आफूखुसी धर्म मान्न पाउँछन र अरुलाइ कुनै हानीनोक्शानी नहुने गरि धार्मिक गतिविधि गर्न पनि पाउँछन । यति सजिलो, सानो र सहज कुरा देशका नेता वा धर्मिक अगुवाहरुले नबुझेकै हुन त ? पक्कै पनि नबुझेका होइनन् । बुझेका छन् । यो कुरा आम नागरिकले बुझ्न जरुरी छ । राजनेताले सृजना गरेको यो भ्रमलाइ आम नागरिकले नबुझेसम्म खास नागरिकले भ्रममा परी रहने र आफनो व्यबसाय संचालन गरि रहने परिपाटी नेपाल मात्रको पनि होइन संसारकै हो । खासमा धर्म व्यक्तिको धारणा हो, देखावटीपन होइन । ईश्वर मान्ने कुरा हो, विश्वास भए मान्ने हो विश्वास नभए नमान्न पनि सकिन्छ, तर धर्म पालन गर्ने कुरा हो । धर्म कर्तव्य हो, अनुशासन हो, पालन गर्नुपर्छ, मानेर मात्र हुँदैन । धर्म पहिचान हो, अस्तित्व हो, परिवर्तन गर्न मिल्दैन । धर्म जीवनको आधार हो तर आडम्बर होइन । अन्धविश्वास होइन । महात्मा गान्धीले ‘ईश्वरको कुनै धर्म हुँदैन’ भनेझैं हामी एसियालीहरूले पैदा गरेका ठूला धर्महरू राजनीति गर्न, साम्प्रदायिक जहर फैलाउन वा भेदभाव गर्न वा एकले अर्कोलाई गालीगलौज गर्न र अहंकार प्रदर्शन गर्न प्रादुर्भाव गरेको होइन । वेद, गीता, त्रिपिटक, धम्मपद, कुरान वा बाइबल कहीं पनि वैमनस्य र भीडन्त फैलाउन सिकाइएको छैन । हामी आ–आफ्ना धर्मको बारेमा गर्व गर्न सक्छौं, तर अरूका धर्मको सम्मान गर्न र उनीहरूको धार्मिक आस्थालाई प्रलोभनमा पारेर वा आकांक्षा चर्काइदिएर आफूतिर तान्ने घृणित चालबाजी उत्तिकै निन्दनीय पनि छन् ।
नेपाललार्इ कुनै पनि संविधान विशेषले हिन्दूराज्यलार्इ मान्यता दिइएको थिएन् । कतिपय हिन्दूधर्मका प्रशंसकहरुको पुस्तक र लेखहरुमा लेखिएकै आधारमा हिन्दूराज्य भनिएको थियो । संबैधानीक रूपमा व्यवस्था नै भएको कुराको माग हुनु हुँदैनथ्यो तर भइरहेको छ । अहिलेको अभ्यास हेर्दा हामीले अपनाएको हिन्दु धर्ममा अन्धविश्वास, क्षुद्र धन्दा, पुरोहितवाद, आडम्बर र तडक—भडकले भरमार प्रश्रय पाएको छ । हुन त यी विकृतिमात्र यस धर्ममा छैनन् । दर्शन, नैतिक शिक्षा, आचरण प्रबद्र्धन र प्रकृतिको महत्त्वबोध आदिजस्ता जीवन र जगतसम्बन्धी ज्ञानको बिशाल भण्डार यस धर्ममा भए पनि अन्धबिश्वास र आडम्बरको छायाँले छेकिएका छन् । हिन्दूधर्म सनातन दर्शनबाट उत्पत्ति भएपनि सनातन दर्शनको आदर्शलार्इ पूरै परित्याग गरिसकेको छ । जातिय एवं लैङ्गिक विभेद, प्रोहित पूजारीको आडम्बर, तथा ब्रम्हणबादको राजनीतिले चौतर्फी आलोचना खेपेको देखिन्छ । जातिय बिभेदकै कारण नेपाल र भारतका दलित समुदाय धमाधम हिन्दू धर्म परित्याग गरेका छन् । मठमन्दिरमा भएका धार्मिक आडम्बरलार्इ भारतको समाजिक अन्दोलनले इन्कार गर्दै बुद्ध धर्मतिर आकर्षित हुदैछन् । धर्मबाट लाभ लिइरहेका ब्राम्हण ठाकुर लगायत केही अन्य जातिका कट्टरबादीहरु प्रतिरक्षामा उत्रेका छन् । धर्मका ठेकेदाहरु जालझेलमा माहिर भएकोले अन्य समुदायलार्इ भ्रममा पारी द्वन्द माचाउन सक्ने संभावना पनि बढी छ ।
धार्मिक उन्मादले द्वान्द्व बढदै गएको वर्तमान समयमा सनातन धर्मको मर्मलार्इ बुझ्न र बुझाउन जरुरी छ । खुल छलफल, बहस, तर्क बितर्क सनातनको बिरासत हो । यसलार्इ कुनै किताव वा मानव निर्मित बस्तुमा सिमित गर्न मिल्दैन । हिन्दू धर्मका कट्टर अनुयायीहरुले गीतालार्इ महान धर्म मन्दछन र भगन कृष्णले अर्जुनलार्इ दिएको उपदेशलाइ अन्तिम सत्य ठान्दछन तर उनले उठाएका हजरौं प्रश्नहरुको जवाफ खोज्न चाहदैनन् बरु प्रश्न गर्नेहरुमाथि नै प्रश्न तेर्स्याउछन ।
गीताले स्पष्ट सन्देश के दिएको छभने धर्मको मर्म बिश्वास होइन खोज हो । सनातन धर्मका अनुयायी भारतीय सदगुरु जग्गी बासुदेव के भन्छन भने केही हजार साल पहिले हिन्दू धर्म जस्तो कुनै धर्म थिएन । हिन्दू यस धर्तीको नाम थियो र सनातन यसको धर्म थियो । सद्गुरु एकदम स्पष्ट शव्दमा के भन्छन भने सनातन धर्म विश्वास गर्न सिकाउदैन बरु खोज गर्न सिकाउँछ । जुन अहिलेको हिन्दू धर्मको मान्यताको बिपरीत देखिन्छ। सनातन धर्म कुनै यस्तो प्रक्रिया होइन जसले तपाइलार्इ यसमा विश्वास गर्नुस नात्र तपाइ मर्नु हुन्छ, यो यस प्रकारको संस्कृति होइन ।
यसले तपाइको मनमा यस्तो सवाल उठाउछ सायद तपाइ कल्पना समेत गर्न सक्नु हुन्न । तर दुखको कुरा के हो भने सनातनलाइ केही मानिसहरुले एउटा कितावमा कैद गर्न चाहिरहेका छन । एउटा स्थानमा केन्द्रित गर्न चाहिरहेका छन् । जुन आफैमा खेदजनक छ ।
वास्तवमा वर्तमान परिप्रेक्षमा हेर्दा अहिले हिन्दू धर्म खतरामा छ । तर इसार्इ, बौद्ध वा इस्लाम धर्मको कारण होइन् । आफनै आन्तरीक कारणले खतरामा छ । धर्मभित्र भएको जातिय भेदभाव र लैङ्गिक असमानताका करणले खतरमा छ । प्रोहित पुजारी र कथित पंडितका आडम्बरका कारणले खतरमा छ । समाजमा व्याप्त अन्धबिश्वास र पाखण्डको कारणले खतरमा छ । मुठ्ठीभर धर्मका ठेकेदारहरुका कारणले खतरमा छ । ब्राम्हणबादले सृजना गरेको धार्मिक सिन्डिकेटका कारणले खतरामा छ । भोटको राजनीति गर्ने राजनेताको कारणले पनि हिन्दू धर्म खतरामा छ ।
यथास्थितिमा हिन्दू धर्मलार्इ बचाउन कठिन छ । सडकमा अव्हान गरेर, समाजिक सन्जालमा गाली गरेर, इसार्इ धर्मावाल्वीलार्इ कलोमोसो दलेर र इस्लामलार्इ धम्काएर, आफनै धर्मका धर्म सुधारकहरुलार्इ सरापेर यसलार्इ बचाउन सकिदैन । हिन्दू धर्मलार्इ बचाउन र शक्तिसालि बनाउन राम्रो कुरा अरुबाट पनि सिक्नु पर्ने हुन्छ । यसको लागि इस्लाम र इसार्इ जस्तै जातिय भेदभाव अन्त गर्ने रणनीति बनाउ । मठमन्दिरमा भएको आम्दानीलार्इ कोष बनाइ आफ्नै धर्मका गरिव समुदायको स्वास्थ्य शिक्षामा लगानी गर । समुदायमा गएर आफना धर्म ग्रन्थ सहित आधुनिक शिक्षाको लागि आर. एस. एसका कार्यकर्ताहरुलार्इ परिचालन गर । ठाउँ ठाउँमा हामी र हाम्रा पुर्खाले विगमा गरेको गलती र कमि कमजोरी प्रति क्षमायाचना गर ।सवै जात धर्म समुदायको अपमान होइन सम्मान गर । हिन्दू धर्मलार्इ सनातन धर्मतिर फर्कउ । गरिब दुखी र असहायलार्इ मलम लगाउन । दोष्य, घृणा अपमान बन्द गरेर प्रेम स्नेह र सम्मान बडा । यति गरे काफि छ ।।