कथा : मौनता

      

लेखक : भरत केवट (भवानी मा.वि. मान्बु गोरखा)
ऊ प्राय: मौन नै रहन्थ्यो। मौनता नै उसको परिचय थियो। मौनता भन्दैमा बोल्दै नबोल्ने भनेको होइन ।बोल्थ्यो तर अरुको तुलनामा निकै कम ।कसैले उत्तर मागेको बखतमा उत्तर दिने , आफू पनि कसैको कुरा नकाट्नु ,काट्नै परे मुखमा काट्नु, अरुको कुरा काटेर बसेकाहरुको कुरा सुनेर आफ्नो मूल्यवान समय बर्बाद नगर्नु, अनावश्यक कुरा गर्नु भन्दा आवश्यक अनि चाहिने मात्र कुरा गर्नु, कुतर्क गर्नु भन्दा सही र उचित कुराको मात्रै बहस गर्नु ,अन्याय ,अत्याचार अनि विभेदको खुलेर बिरोध गर्नु, कसैको पक्ष नलिइकन निष्पक्ष कुरा गर्नु स्वार्थरहित धारणा राख्नु अरुभन्दा फरक रहनु उसकोआदत थियो। यसै आदतले गर्दा ऊ कसैको प्रिय पात्र बन्न सकेको थिएन ।ऊ समयसँगै गतिशील हुन चाहन्थ्यो। हावा ,पानी अनि बिजुलीको गतिलाई आफ्नो जीवन गति बनाउन चाहन्थ्यो।यसरी नै समयको मौनतासँग मितेरी लगाउदै अगाडि बढिरहेको थियो ।
प्रकृतिको काखमा बढी रमाउने भएकोले ऊ प्रकृतिप्रेमी थियो। उसको घरमा उसको बाबा आमा ऊ र उसकी एक बहिनी गरी चार जनाको परिवार थियो। उसकी बहिनी निकै चञ्चल अनि चुलबुले स्वभावकी थिई भने ऊ चाहिँ अत्यन्तै गम्भीर प्रकृतिको थियो। उसको बाबा पनि गम्भीर स्वभावका नै हुनुहुन्थ्यो भने आमाचाहिँ चञ्चल स्वभावकी हुनुहुन्थ्यो। बाबाको गुण छोरामा र आमाको गुण छोरीमा सरेकोझैँ लाग्थ्यो। आमा सामाजिक संस्थामा काम गर्नुहुन्थ्यो। उसको बाबा खेतीपाती गर्नुहुन्थ्यो। ऊ गाउँको विद्यालयबाट अधारभूत तहको परीक्षा दिएर सहरमा पढ्न गएको थियो।शहर गएदेखि उसमा निकै परिवर्तन आएको थियो। स्वभाविक परिवर्तन त राम्रै हो तर अस्वभाविक परिवर्तन देखा परेको थियो। उसकी बहिनी भने गाउँमै कक्षा पाँचमा पढ्दै थिई। बहिनी फरासिली स्वभावकि थिई। प्रकृतिलाई सबैले पढेझैँ उसलाई सबैले बुझ्न अनि पढ्न सक्थे। ऊ भने निकै गम्भीर अनि रिसाहा पनि थियो। जसरी प्रकृति रिसाउदा आफ्नो उग्र अनि विकराल रुप देखाउँछ जसरी बिजुली चम्किँदा ,मेघ गर्जिदा ,ज्वालामुखी बिस्फोट हुँदा ठूलो आवाज निस्कन्छ त्यसरी नै ऊ सानो सानो कुरामा बिस्फोट भइहाल्थ्यो।प्रकृतिको मौनताभित्र ठूलो विनास अनि विकास दुबै लुकेको हुन्छ।प्रकृतिले आफ्नो मौनता अनि गम्भीरतालाई प्रदर्शन नगरी प्राणी अनि बनस्पतिलाई केही प्रदान गर्न सक्दैन ।प्रकृति पनि त आफ्नो मौनतालाई नतोडीकन अघि बढ्दैन त्यसरी नै ऊ सानो सानो कुरालाई पनि बडो गम्भीरतापूर्वक लिन्थ्यो अनि त्यसरी नै प्रस्तुत हुने गर्थ्यो। उसको चित्त नबुझे ऊ गम्भीर भइदिन्थ्यो।बाबा आमाले उसलाई अलि बोल्ने अनि चञ्चले बनाउन चाहनुहुन्थ्यो। अफ्ना छोराछोरीको भविष्य निर्माण गर्न चाहनुहुन्थो। छोरालाई कलेजमा भर्ना गर्दै गर्दा उसको बाबाले गुरुगुरुमासँग भन्नुभएको थियो “मेरो छोरो अलि एकलकाँटे छ यसलाई जसरी भए पनि बोल्ने बनाउनु छ। सामाजिक मानिस बनाउन सके राम्रो हुन्थ्यो ।मैले यहाँहरुको जिम्मामा छोड्दै छु।“
ऊ आफ्नो मनको कुरा खुलेर कसैसँग गर्दैनथ्यो। आफ्नो बाबाआमासँग पनि झर्केरै बोल्ने गर्थ्यो। बाबाआमाको सपना उसलाई डाक्टर बनाउनु थियो ।डाक्टर बनाउनका लागि भने पैसा धेरै लगानी गर्नुपर्ने अनि पढाइ लेखाइमा समेत अब्बल हुनुपर्ने थियो। रुपियाँ पैसाको व्यवस्था त ऋण धन गरेर जसो तसो गरौँला तर छोराको व्यवहारमा सकारात्मक परिवर्तन नाअएको हुँदा उनीहरुको सपनामाथि तुवाँलो लाग्न थालेको थियो ।आकाश सफा भए पो दृश्य स्पस्ट देखिने हो ।उनीहरुको सपना पूरा हुनेमा उनीहरु त्यति बिश्वस्त थिएनन् । छोरी भने असल अनि ज्ञानी थिई ।ऊ आफ्नो आमाबाबाको मन कहिल्यै दुखाएकी थिइन ।बाबाआमाकै मार्गमा चल्ने गर्थी । आफ्ना मनका कुराहरु खुलेरै गर्थी। घरमा धेरै नै बोल्ने गर्थी। उदार मन भएकी मन र पेट एउटै भएकी थिई ।मनभित्र कुनै कुरा राख्दैनथी । बाबाआमालाई साथीझैँ मान्थी र व्यवहार पनि गर्थी। रिस त सबैलाई लाग्छ छोरीले बिगार काम गरेपछि आमाबाबाले कराइदिँदा ऊ केही छिन त मौन रहन्थी तर त्यो मौनतालाई धेरै समय मनभित्र लुकाउन सक्दैनथी। ऊ आफ्नो कोठामा गएर चुकुल लगाएर मन खोलेर रुने गर्थी ।रुँदाको बखतमा मौनता भङ्ग हुन्थ्यो । त्यही बखत उसको मनमा धेरै सकारात्मक बिचारहरु आउने गर्थे।
ती सबैलाई उसले सहज रुपमा लिने गर्थी अनि मनमनै सोच्ने गर्थी ;मेरा लागि आमाबुबा त भगवान नै हुन नि ।उहाँहरु मेरै भलाइकै लागि मलाई हप्काउनु भएको हो। गाली गर्नुभएको हो। गाली गर्नु चाहे प्रसंशा गर्नु दुइटैको भाव एउट हो ,मैले बुझनु पर्छ भनेर छोरीले चित्त बुझाउँथी अनि उसको मनभित्रको सबै कल्मषलाई आँसुले पखालिदिन्थ्यो ।छोरीको मन हलुँगो भैदिन्थ्यो। छोरीलाई भने उसका बाबाआमाले धेरै पढाउने चाहना रखेका थिएनन किनकी छोरी बिहे गरेर अर्काको घर जाने धन हो । बाबामाले उसको बिहे गरेर उसको घरमा पठाउने सोच बनाइसकेका थिए। आमाले भन्नु भएको थियो ,“छोरी तिमी अब अर्कर्को घरमा जानुपर्छ; पढाइलेखाइ भन्दा बढी गुणढङ्ग सिक्नुपर्छ।“ छोरी मौन बस्न सकिन आमासँग भनी ,“आमा म धेरै पढ्छु मलाई ठूलो मानिस बन्नुछ । “त्यो दिन पनि छोरी एक्लै रोई मन खोलेरै रोई तर त्यो रुवाई उसका लागि निरर्थक नै थियो।छोरीले मौनता भङ्ग गरी तर बाबाआमाको निर्णयको अगाडि कसैको केही चल्न सकेन छोरी पढ्ने उमेरमै बिहे गरेर अर्काको घरमा जानुपर्ने नै भयो ।आफ्नो लोग्नेको घरमा गएर भए पनि पढाइ पूरा गर्न चहन्थी त्यहाँ पनि ऊ आफ्नो ससुरालमा गएर आफ्नो लोग्नेसङ्ग आफू धेरै पढेर ठुलो मानिस बन्ने इच्छा व्यक्त गरी ।आफ्नो मौनतालाई तोडी तर त्यस पटकको उसको भावनालाई कसैले बुझ्ने कोसिस गरेनन् ।उसको रुचि ,इच्छा चाहानाले साकार रुप लिन सकेन ।
समय बित्दै गयो। छोरोलाई होस्टेल राखिएको थियो । ऊ त्यहाँ पनि धेरै समय मौन नै रहन्थ्यो आमाबाबाको गोरेटोमा हिड्नुपर्दा थकित भएको थियो। त्यो बाटोमा उसलाई हिड्ने मनै थिएन । डाक्टर बन्नुमा ऊ आफूलाई कुनै माहान कार्य गरेको ठान्दैनथ्यो। उसलाई आफूलाई शून्यमा बिलिन हुने भावनाले अतिक्रमण गर्न थालिसकेको थियो। ऊ आफ्नै मार्गमा हिड्न खोजिरहेको थियो। ऊ आफ्नै खुसीले रोजेको अनि देखेको मार्गमा हिडेर दुनियाँमा आफ्नो यश कमाउन चाहन्थ्यो। कहिले काहीं आफ्नो मार्गमा हिड्न नपाएकोमा बाँच्नुको के अर्थ भन्नेसम्म सोच्थ्यो। स्कुल बर्खे बिदा भयो ऊ छ महिनापछि घरमा आएको थियो। बाबाले सोध्नुभयो छोरा तेरो पढाइको अवस्था कस्तो छ? उसले केही बोलेन ।उसले झोलाबाट प्रगतिविवरण निकालेर हातमा राखिदियो ।बाबाले प्रगति विवरण हेर्नुभयो तर त्यसमा कुनै प्रगति देख्नुभएन । त्यसमा त छोराको अधोगति मात्रै थियो। त्यो उसको बाबाको लागि प्रगति विवरण नभएर अधोगति विवरण थियो। बाबाले छोराको यस्तो अधोगति देखेर छोरालाई बोलाई सम्झाउन थाल्नुभयो ।छोरा हामीले तँमाथि ठूलो भरोसा राखेका थियौँ ।हाम्रो आशा थियो कि तैले हाम्रो सपनालाई पूरा गर्नेछस् तर तैले त हाम्रो नाक काटिसकेको रहेछ्स् । तैँले हाम्रो सपना सबै चकनाचुर गरिस् ।हेर त ! तेरो गणित ,विज्ञान र अङ्ग्रेजी यी सबै बिषयमा कति कम नम्बर आएको छ ? तँ कसरी डाक्टर बन्छस् । तैले त हाम्रो नाक काटिस्। हे भगवान ! हामीले के यस्तो दिन देख्न परेको हो? यस्ता छोरा हुनुभन्दा नहुनु नै जाती। तँ आजकै दिनबाट हाम्रो लागि रहिनस् । भन त अब मिहिनेत गरेर गणित, अङ्ग्रेजी र विज्ञान विषयमा राम्रो अङ्क ल्याउने कि न ल्याउने ?
छोराले सहज रुपमा भन्यो,“ नल्याउने बाबा किनकि म यी विषयमा कहिल्यै पनि राम्रो गर्न सक्दैन अनि मलाई डाक्टर पनि बन्नु छैन । मलाई मेरै क्षमता अनुसार अगाडि बड्नु छ ।सके पुलिस आर्मी बन्ने हो नसके खेतीपाती गर्ने हो ।“ बाबा रिसले आगो हुनुभयो छोरामाथि बाघ झम्टिएझैँ झम्टिन खोज्नुभयो । पिट्न खोज्नु भयो; मूर्ख जस्तै हात उठाउनु भयो तर पिट्न सक्नुभएन । आफूलाई समाल्नुभयो तर उहाँको आँखामा क्रुरता ,निर्दयता ,रिस आक्रोश प्रष्टै देखिइरहेको थियो। उहाँको आत्माको सबै अकलुषित विचारहरु कति पोखिए त कति मनभित्रै हिउँझैँ जमेर बसे।समय बित्दै गयो छोरो झन् झन् कमजोर हुँदै गयो । एक दिन बाबा र छोरा बिचमा पढाइकै बिषयलाई लिएर फेरि सामान्य ठाकठुक पर्यो । छोरो घरबाट दौड्दै खोलातिर भाग्यो। ऊ भन्दै थियो तपाइँहरूको कहिल्यै मुख हेर्नआउँदैन । ऊ भन्दै थियोे “म सदाको लागि तपाईँहरूबाट टाढा जाँदै छु । “उसको बाबा रिसले आगो हुनुभएको थियो ।रिसको झोकमा उहाले धेरै कुराहरु भन्नू भएको थियो अरु सबै कुरा उसले बिर्सिसके तर एउटा कुरा जीन्दगीभरि चाहेर पनि बिर्सिन सकेको थिएन । ,“जा के गर्छस ?हामीलाई मृत्युको धम्की दिन्छ्स् । जा मर ; मरेर गैहालिस् भने कसलाई लिएर जान्छस् भनेर हप्काइदिनु भयो । “उहाँ निकै रिसाउनु भएको थियो ।आफ्नो रिसलाई कम गर्न उहाँ एक गिलास पानी खानुभयो। रिस अलि शान्त भएको जस्तो थियो ।आमा आउनुभयो । छोरी पनि हिजो मात्रै आफ्नो ससुरालबाट माइतघर आएकी थिई। बाबाले छोराको सबै कर्तुतको बारेमा सुनाउनुभयो ।आमा पनि भर्खर अफिसबाट घरमा आउनुभएको थियो । यो कुरा सुनेर आमालाई छाँगाबाट खसेझैँ भयो ।छ्या ! तपाइँले हुर्कीसकेको छोरालाई यति सार्हो किन भन्नुभयो ? बढीसकेको छोरोको मनमा कस्तो असर पर्छ ?त्यसको कुनै ख्याल छैन है हजुरलाई। लौ न छोरालाई गएर खोजेर ल्याउनुहोस् कतै गलत कदम नउठाओस् ।खोज्न जाऔँ कतै नदीमा हाम फाल्यो भने ?हातमा डोरी जस्तो के बस्तु लिएको छ साँहिली दिदीले देख्नुभएको रे ।के भयो बाबू ?तँलाई के भयो कता जान थालेको? परेसान देखिन्छस् त भनेर सोध्नुभएको रे केही नबोलिकन गयो रे। हरे! के अनिष्ट गर्नुभयो आज ? डोरीले पासो लगाएर कतै झुन्डियो भने के हुन्छ? छोरी रुन थाली ।सबै जना गाउँको पुर्वतिर खोलाको किनारमा गए ।साउनको महिना थियो खोलामा बाढी आएको थियो।आमाले छोरालाई खोलाको किनारमा रुदै गरेको फेला पार्नुभयो।रोएकै कारणले उसको मौनता तोडिएर होला आज उसलाई सकुसल फेला पार्नुभयो। छोरालाई सम्झाइबुझाइ गरेर ल्याउनुभयो।
समय आफ्नै गतिमा बितिरहेको थियो बर्खे विदापछि फेरि स्कुल खुल्यो। छोरा स्कुल जान थाल्यो तर आमाबाबाको मन त्रासै त्रासमा बाचीरह्यो ।मन कहिल्यै त्रासमुक्त हुन सकेन। आमाबाबा छोराको लागि बाँचेर पनि पटकपटक मरिरहे।हे प्रभु !कस्तो जमाना आयो आफूले जन्माएको सन्तानलाई आफैले सम्झाउन अनि पिट्न नपाइने भयो। हामी जन्मदाताको परवरिसमा काहाँ के को कमी भयो? हामीले छोरालाई किन असल संस्कार दिन सकेनौँ ?आफैमा बिचारणीय अनि गम्भीर सवाल थियो। मौन बस्नु आफैमा नराम्रो पनि त होइन तर साह्रै अन्तर्मुखी पनि हुनु हुँदैन । आज यही उसको मौनताको दुष्परिणाम हामीलाई भोग्नुपरिरहेको छ। उसको असामाजिक गतिविधिले गर्दा धेरै आशङ्का उब्जाइरहन्थ्यो।हरेक सपनीमा उनीहरु खराब सपनाको सिकार भइरहन्थे। स्कुलमा पनि छोराको गतिविधि पनि त्यस्तै अप्रिय छ कि भन्ने कुरामा सधैं शसङ्कित भइरहन्थे।
ऊ स्कुलमा पढ्न जान्थ्यो तर अरुभन्दा एक्दमै फरक थियो। साथीहरूसगँ कम मात्रै बोल्थ्यो । नेपाली विषयमा पनि कमजोर नै थियो। शिक्षकले एक दिन सबै विद्यार्थीहरुलाई आफ्नो जीवनको लक्ष्य शीर्षकको निबन्ध लेख्न लगाउनु भयो।शिक्षकले सबैलाई आ आफ्नो जीवनको लक्ष्य शीर्षकको लिखित निबन्ध वाचन गर्न लगाउनुभयो।उसको पालो आयो ।उसले आफूले लेखेको निबन्ध शिक्षकलाई देखायो अनि सुनायो पनि। ऊ आफू नेपाल आर्मी बन्ने लक्ष्य बतायो फेरि शिक्षकले प्रश्न गर्दै भन्नुभयो किन तिमी नेपाल आर्मी बन्ने चहना राखेको? उसले भन्यो,“ मेरो पढाइ कमजोर छ ।म गणित ,अङ्ग्रेजी र विज्ञान विषयमा सारै कमजोर छु। यी विषयहरु पढ्न मनै लाग्दैन ।“शिक्षक जिल्ल पर्नुभयो।फेरि प्रश्न गर्दै सोध्नुभयो,“ तिमीलाई के गर्न मन पर्छ? “उसले भन्यो ,“एकान्तमा बस्न मात्रै मन पर्छ, देशको सेवा गर्न मन लाग्छ ।मेरो बाबाआमाले मलाई खालि गाली गरेको, हप्काएको , डराएको मात्रै घटनाहरु मनमा आइरहन्छन् ।मलाई त कहिले काहिँ एक्लो हुन मन लाग्छ।यो संसारमा मेरो भावना बुझ्ने कोही मान्छे छैन जस्तो लाग्छ अनि म किन र कसको लागि जन्मिएको हुँ जस्तो पनि लाग्छ। कहिलेकाहीँ त मर्न पनि मन लाग्छ ।उसको कुरा सुनिसकेपछि शिक्षक दुखी हुनुभयो अनि उसको आमाबाबालाई भेट्ने निर्णय गर्नुभयो। अनि उसलाई तिमी चिन्ता नगर सबै ठिक हुन्छ। तिमी पिर मान्नु पर्दैन भन्नुभयो।
बाबाआमा भने छोरोलाई डाक्टर बनाउने भन्दाखेरि ऊ आफूलाई थिचिइएको महसुस गरेको थियो । बाबाआमाको इच्छा अनुसार नै ऊ चल्न नसक्दा अलिकति मौन बसेको हो कि ? भन्ने निष्कर्ष शिक्षकले निकाल्नुभयो । छोरो दिन प्रतिदिन कमजोर हुँदै गएको थियो ।पहिलेको भन्दा झन कम बोल्ने भएको थियो उसको मौनता बढ्दै गइएको थियो । नेपालीहरुको माहान पर्व बडा दशै नजिकिदै थियो। उसको बाबाले छोरोलाई भेट्न विद्यालय जाने बिचार गर्दै हुनुहुन्थ्यो।नभन्दै अचानक उसको विद्यालयको नेपाली विषय शिक्षक आइपुग्नु भयो।उसको बाबाआमालाई ढुङ्गो खोज्दा देउता भेटिएझैँ लाग्यो।आमाबाबाले स्वागत गर्दै बस्न आग्रह गर्नुभयो । आमाबाबाको मीठो आतिथ्यता पाएर उहाँ खुसी हुनुभयो । बाबाआमाले शिक्षकलाई के कति कामले आउनुभयो ?कारण सोध्नुभयो। शिक्षकले भन्नुभयो,“ तपाइको छोराको बारेमा केही जानकारी लिनु थियो त्यही भएर । “बाबाआमा आत्तिनुभयो लौ न के भयो हाम्रो छोरालाई? शिक्षकले केही भएको छैन आत्तिनुपर्दैन भन्नुभयो। बरु तपाईंको छोरामा धेरै सुधार आएको छ ।शिक्षकका कुरा सुनेपछि खुसी हुनुभयो। भनेपछि अब हाम्रो सपना पूरा हुने भो नि है । शिक्षकले भन्नुभयो के सपना थियो होला?यहाँहरुको ? के हुनु नि एउटा ठूलो डाक्टर बनाउने सपना।
शिक्षकले भन्नुभयो ,“ सुन्नुहोस् तपाईंको छोरो एकदमै ज्ञानी अनि असल छ।उसको आफ्नो सपना छ। यहाँहरुको पनि सपना होला ।हामी सबैको जीवन एक नाटक हो हामी सबै यस जीवनरुपी नाटकका पात्र मात्रै हौँ ।आफ्नो सपनाको अगाडि कसैको सपनालाई हामीले तुहाउनुहुदैन ।सबैको फरक – फरक क्षमता हुन्छ र उनीहरुको आ आफ्ना रुचि ,चाहना,आवश्यकता अनुसार उनीहरुलाई अगाडि बढ्न दिनुपर्छ। हस्तक्षेप गर्नु हुदैन ।तपाईं कुनै नतिर्खाएको गधालाई जबर्जस्ती नदीमा लगेर पानी पिउन लगाउनुहुन्छ भने त्यो गलत अभ्यास हुन्छ। तिर्खाएको गधाले स्वयं आफै पानीको खोजी गरेर आफ्नो प्यास मेटाउँछ र मेटाउनुपर्छ पनि। हो त्यसरी नै तपाईँको छोरालाई तपाईँहरुले कहिल्यै तिम्रो इच्छा अनि रुचि केमा छ भनेर सोध्नु भयो त? ।सायद सोध्नु भएन होला ।तपाईँहरु गलत गर्दै हुनुहुन्छ तपाईँहरुको गलत र दबावपूर्ण निर्णयले गर्दा ऊ अन्य बालबालिका भन्दा फरक अनि असामाजिक बनेको हो ।उसको मुख्य चहना त नेपाल आर्मी बन्ने रहेछ नि त त्यसैले उसलाई उसको धवनमार्गमा हिड्नदिनुहोस्। आफ्नो धावनमार्गमा हिडाउने प्रयत्नका कारण उसमा मौनता ,नैरास्यता ,कुण्ठा र एक्लोपना जस्ता व्यवहारहरु देखिएका हुन् कि ? ऊ भित्रबाट टुटिसकेको छ। उसलाई उसैको तरिकाबाट जिउन दिनुहोस् ।शिक्षकका कुरा सुनिसकेपछि उसका आमाबाबाका आँखाका पट्टि खुले ।अझै शिक्षकले भन्नुभयो ।ऊ यस वर्ष कक्षा १० को परीक्षा दिदै छ । त्यसपछि नेपाल आर्मीमा भर्ती हुन चहन्छ भने भर्ती हुनदिनुहोस् । काम कुनै पनि सानो ठूलो हुदैन ;सबै समान हुन्छ। सबै कामको आआफ्नो ठाउँमा उत्तीकै महत्व हुन्छ । सबै कामको हामीले सम्मान गर्नुपर्छ। शिक्षक यति भनेर आफ्नो बाटो लाग्नुभयो।
त्यसपछि उसको बाबाआमाले उसको जीन्दगी जीउने अनि पेशा रोज्ने सम्पूर्ण जिम्मेवारी उसैमाथि छोडिदिनुभयो। नेपाल आर्मीको भर्ती खुल्यो उसले आवेदन दियो ।सहजै नाम निकाल्न सफल भयो ।उसको घरमा खुसियाली छायो ।एउटा गम्भीर मौनताको अन्त्य भयो अनि उसका आमाबाबा आफ्नो मौनतालाई कायम गर्न चाहेर पनि कायम गर्न सकेनन् मन सारै प्रफुल्लित भयो । एउटा असल अनि कुसल गुरुको गुरुताका कारण एउटा कर्णधारको जीवनले नयाँ मोड लियो ।। तोडियो मौनता।घरमा छायो रौनकता। अहिले ऊ नयाँ जीवन पाएको छ ।सरकारी जीवनको पहिलो अध्याय सुरुवात गर्दै छ ।आमाबाबाको आँखाबाट हर्षाश्रु रोकिएन ।

                    

© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group