दोष कसलाई दिउ ?

लेखक ः भरत केवट
समय परिवर्तनशील छ ; परिवर्तित समय अनि गुरुगुरुआमाहरुको सही दिशानिर्देशले जो कोहीको जीवनमा आमूल परिवर्तन आउन सक्छ। तपाईं भन्नुहोला गुरु को हुन? समय,प्रकृति अनि मानव नै गुरु हुन् ।समयले मलाई धेरै सिकाएको छ ,सिक्दै छु सिकिरहनेछु। प्रकृतिको त के कुरा गरौँ ? अथाह ज्ञानको भण्डार ।प्रकृतिको सुन्दरतालाई नजिकबाट नियाल्नका लागि अनि प्रकृतिको दास बनी जीउनका लागि जीवन दिने मानव नै महान मानव गुरु हुन् । मेरा बाबा र आमा गुरु भन्दा माथिका भगवान त नभनीहालौँ तर मेरा लागि भगवान भन्दा फरक नपर्ला।म उहाँहरुकै उपज हुँ ,बरदान हुँ ,मैले उहाँहरुलाई नमन गर्छु ।अपार माया अनि श्रद्धा छ मेरो मुटुमा उहाँप्रतिको । मेरो मात्रै होइन सबैका बाबाआमा सबैका लागि श्रद्धा अनि भक्तीका पात्र होलान् तर त्यो मातृत्वप्रेम उहाँको लागि अरुको भन्दा बेग्लै रहेछ र मलाई लाग्छ पनि। म अझै सम्झिन्छु मेरी आमाले मलाई बालापनमा सुनाएको कुरा अनि अलमलमा पर्छु मेरी हजुरआमाले किन त्यसो गर्नु भएको थियो ? दुई थप्पड अझै हान्दिएको भए उहाँको गुरुता वरणेय हुन्थ्यो ।
गुरु नामै काफी छ । भनिन्छ हाम्रो पहिलो पाठशाला हाम्रो घर अनि आमा पहिलो गुरुमा।त्यही भएर पनि मैले सुरु गर्नै पर्छ खुरु खुरु मेरो बाबाको एक दिनको कथा।मैले बाबासङ्ग पनि अनुमती लिएरै लेख्दै छु ।आमाले भनेको मेरो बाबाले भोगेको अनि मेरी हजुरआमाले गरेको गुरुता। म भर्खर गाउँको स्कुलमा प्राथमिक तहको शिक्षा पूरा गरि माध्यमिक तहको शिक्षा पुरा गर्न भनी शहर गएको थिएँ । घटना त्यो समयको हो जुन समय म त्यही शहर भनौ या बजारको विद्यालयको कक्षा १० मा पढ्दै गरेको थिएँ ।परिवेश फरक थियो आफू त सोझो मान्छे सोझै तरिकाले स्कुल गइन्थ्यो।साइकल नै मेरो सहयोगी थियो त्यसले मलाई बोक्ने गथ्र्यो । घर मेरो गाउँमा दिनहुँ हिडेर पनि जान सकिने यद्यपि बाबाआमाले किनिदिएको मेरो साइकल ।साइकलको बाटो आधी घण्टा र पैदल १ घण्टा ।समय यसरी नै व्यतीत भैरहेको थियो।म भन्दै जान्छु सुन्दै जानू ल ….. ।

मेरा बाबा आमा हजुरआमा,हजुरबुवा ,दाजु, भाइ गरी एघार जनाको संयुक्त परिवार थियो । जीवन चलाउन बडो मुस्किल थियो र पनि हाम्रो जीवनरथ चलिरहेकै थियो ।संघर्षका पाइलाहरु कहाली लाग्दा थिए।बाबाआमा खेतीपाती गर्नुहुन्थ्योे। सपना धेरै सजाउनु भएको थियो।उहाँहरु आफ्ना सपनाहरुलाई बिर्सेर हाम्रा सपना सकार पार्ने प्रयत्नमा लाग्नुभएको थियो ।छोरीको पर्खाइमा नयाँ संसार देख्न पाएका हामी सात भाइ छोराहरुलाई पढाउनमा आफ्ना दिनहरु बिताउँदै हुनुहुन्थ्यो । समय कति निष्ठुरी थियो मेरी आमाबाबाले हाम्रा लागि के गर्नु भएन र? कृषि पेशा एक मात्र हातमुख जोर्ने माध्यम बनेको थियो। दिनभरि खेतबारीमा काम गर्ने हजुरबा हजुरआमालाई सघाउने ,उत्पादित कृषि उपज साइकलमा राखेर बजारसम्म पुर्याउने ,सस्तो मूल्यमा होटेलमा बेच्नुपर्ने अनि दाम पाउनका लागि महिनौँसम्म कुर्नुपर्ने ,आमा चाहिँ टाउकोमा टोकरी बोकी कृषि उपजलाई धान गहुँ ,दाल आदिसङ्ग बिनिमय गर्नुहुन्थ्यो अनि घरमा आउनु,खाना पकाउनु, खुवाउनु , सुताउनु फेरि बिहान सबेरै उठ्नु , भैँसीको भकारो सोह्रनु ,खाना तयार पार्नु ,हामीलाई विद्यालय पठाउनु अनि हजुरबुबा हजुरआमा र बाबाको खेतीपातीको काममा हात बाड्नु उहाँको नित्य कर्म नै थियो त्यसैले मेरो नेत्रले समय निकै परिवर्तित भाइसकेको देख्छ । कस्तो यथास्थितिवादी रहेछ भन्नुहोला ।म पनि प्रगतिवादी सोचको आधुनिक जमानाको केही यथाविचारलाई शीरोधार्य गर्न मन पराउने मान्छे ।हिजोको समाज ,अभिभावक र केटाकेटीमा पुरै परिवर्तन ।हिजोको र आजको समयको तुलना गर्छु धेरै फरक पाउँछु ।म एउटा शिक्षक मैले मेरै आफ्नै आँखाले देखेको अनि भोगेको ।
नेपालैभरि साक्षरता अभियान चलिरहेको थियो । गाउँ गाउँमा प्रौढ शिक्षा चल्दै थियो एक जना महिला सजकर्ता साक्षरता कक्षाका लागि मेरो घरमा आउनुभएको रहेछ । खाइलाग्दो उमेरकी ,गहुँगोरो वणर्की ,हेरुँ हेरुँ लाग्ने कोट पाइन्ट लगाएकी ।मेरो अन्तर्मनमा उहाँप्रतिको प्रेमभाव जागृत भयो ।उमेर नै त्यस्तै थियो होला सायद त्यही भएर होला।सबैलाई हुने र लाग्ने चिज । मलाई खिच्यो उहाँको मनले मेरो मनलाई अनि के गरुँ त दोष कसलाई दिउँ त म…… ? उमेरलाई, मनलाई ,यौवनलाई, अफैलाई वा उहाँलाई , …कसलाई ? म सोच्न सकिनँ ।म एकछिन टक्क उभिएँ ,रोकिएँ अनि फेरि सरासर आफ्नो कोठामा गएँ ।गाउँभरिकै प्रौढहरुको नामवली सङ्कलन गर्दैहुनुहुन्थ्यो । ती नौलीे महिला गैसकेपछि सबै कुरा आमासँग सोधेँ ।बाबासँग सोध्न डर लाग्थ्यो ॥बाबाहरु यस्तै हुन्छन् ।आमाले लामो सास फेर्दै भोलिबाट थप एउटा कामको भारी थपियो भन्नुभयो ।म उत्सुक भएर सोधेँ कस्तो जिम्मेवारी आमा? आमाले भन्नुभयो भोलिबाट तिम्रो बाबा बाबासमूहमा अनि म चाहिँ आमा समूहमा दिउँसो ३ बजेदेखि ४ बजेसम्म पढ्नजानुपर्ने रे। नगइ नहुने रे ।नाम लेख्न सम्म भएपनि सिक्नुपर्ने रे हैन भने सरकारी सेवासुबिधाबाट बञ्चित हुनुपर्ने।अनि बल्ल मैले थहा पाएँ कि मेरा बाबा आमा निरक्षर हुनुहुन्छ भनेर।
मलाई अझै पनि विश्वास लागेन फेरि आमासँग प्रतिप्रश्न गरेँ साँच्चै बाबालाई पढ्न आउदैन आमा? आमाले हो भन्नुभयो । मैले थपे बाबाले म लगायत सबैजना विद्यालयबाट आएपछि त पढ पढ भन्नुहुन्थ्यो । कापीमा लेखे नलेखेको सबै हेर्नुहुन्थ्यो; लेख्न लगाउनुहुन्थ्यो, पढ्न लगाउनुहुन्थ्यो, पढ्न अलमल गरे गाली गर्नुहुन्थ्यो, कहिलेकाही मायाले पिट्नु पनि हुन्थ्यो अनि बिर्सनै नहुने कुरा के थियो भने हरेक बिहान ४ बजे उठाइदिनुहुन्थ्यो ।हामी उठ्थ्याँै अनि लेखपढ गथ्र्यौ । म ढुक्क थिएँ मेरो बाबाले पढ्नुभएको छ भन्ने कुरामा । त्यसैले मैले कहिले पनि बाबा ! तपाईं कति पढ्नुभएको छ भनी सोध्ने आँट गरिनँ । अनि काम पनि उस्तै गर्नुपथ्र्यो । अनायास मेरो मुखबाट निस्क्यो आमा ! बाबा किन पढ्नु भएन ? म निकै डराएँ सोध्न हुने कुरो थियो या थिएन ? तर अफूले आफैलाई समालेँ ।आमाले थप्नु भयो ,“छोरा दोष कसलाई दिउँ।ध्यान दिएर सुन्नु आफै निणर्य गर्नु।“
तिम्रो बाबा सानै हुनुहुन्थ्यो । उमेरमा ८ बर्ष ।कक्षा १ मा भर्ना हुनुभएको थियो ।बाबु तिम्रो हजुरबाबाले नजिकैको विद्यालयमा लगेर भर्ना गरिदिनुभएको थियो रे।बाबाको पहिलो त्यो दिन थियो जुन दिन स्कुल त जानुभयो तर हाफ टिफिनमा भागेर घर आउनु भयो।हजुरबाबाले यति चाँडै किन आएको भनी सोध्न नपाउँदै हजुरआमाले मेरो छोरो आइपुग्यो ।कति ज्ञानी मेरो छोरो म तिमीलाई कत्ति सम्झीरहेको थिएँ तिमीबिना यो घर नै सुनसान भएको थियो ।कति राम्रो गर्यौ छोरो यसरी नै सधैं आउनु ल भनी म्वाई खानुभयो रे ।हजुरबा केही नबोली बारीमा खेत खन्न जानुभयो।हजुरआमाले तेरो बाबालाई यति माया गरिदिनुभयो कि त्यसको परिणाम आज सबैले भोगिरहेका छौँ ।अर्को दिन तिम्रो हजुरआमाले खाना खुवाउनु भयो तिम्रो बाबालाई हजुरबाबाले स्कुल पुर्यादिनु भयो । ४ नबजी घर नआउनू भन्नुभयो । यसरी स्कुल जानेक्रम नित्य रुपमा चली नै रह्यो। आमाले भन्दै जानुभयो, “तिम्रो बुवा असाध्यै गुच्चा खेलको सौकिन ।स्कुलबाट आएर झोला फालेपछि साथीहरूसङग गुच्चा खेल्न गइहाल्ने रे गाउँमा गुच्चा खेल्ने उनका दौँतरीहरु अनगिन्ती अनि अलि ठूलो भएपछि धेरैजसो भारतको बम्बइ, दिल्ली पन्जाब, लखनउ, गोरखपुर पैसा कमाउन गइहाल्थे। “बाबाआमा पनि कस्ता कि छोराछोरीलाई धन कमाउनकै लागि जन्माएको जस्तो गर्ने, सानो हुँदासम्म गाउँमा गुच्चा खेलेर बस्ने ठूलो भएपछि त पैसा कमाउन त भारत जानैपर्छ । पढेर के हुन्छ र? पढे पनि त्यही हो नपढे पनि आखिर त्यही हो तिम्रो हजुरआमाले भन्नुभएको मलाई आमाले, “भन्नुभयो । यसरी समय बित्दै गयो मेरी हजुरआमाले छोरोलाई भने स्कुल पठाउने नाटक मात्रै गर्नुहुन्थ्यो।महिना दिन बितेको थिएन एक जना शिक्षकले एक जना विद्यार्थीलाई कुटेको देखेर बुवा स्कुल जानै मान्नु भएन रे।हजुरबुबाले पनि कि घरमा बारी खन्ने कि स्कुल पढ्न जानुपर्ने बिकल्प दिँदा खेत खन्ने बिकल्प रोज्नु भयो रे तर हजुरआमाले त्यसो कहाँ हुन्छ बाबै?मेरो प्राण ,मेरो मुटु अझै सानै छ यसलाई खेतमा काम गर्न जान दिन्न म ।बिचारा मेरो बबुरो बच्चा !स्कुल जानुपर्छ स्कुल गएपछि घरमा काम गर्नुपर्दैन।स्कुलमा आराम हुन्छ ।
त्यसपछि स्कुल जान त थाल्नुभयो त्यो पनि तन मात्रै स्कुलमा मन कहिले पनि स्कुल जानै सकेन । गए पनि स्कुल जाने हाजिर हुने अनि एक दुई पिरियड पढेर भागेर आउने गाउँकै खरियानमा गुच्चा खेलेर बस्ने अनि त्यति मात्र कहाँ हो र ? भन्दाखेरि पत्यार नलाग्ला । तिम्रो हजुरबुवा अनि हजुरआमा चुरोट अनि रक्सी लिने गर्नुहुन्थ्यो । भनिन्छ नि घरपरिवार अनि समाजको वातवरण जस्तो हुन्छ बालबालिकाको मानसपटलमा त्यस्तै छाप बस्छ; त्यसैको सिको पनि गर्छन् ।राम्रो गुण र असल बानी व्यहोरा भन्दा खराब बानी खराब कुरा छिट्टै सिक्छन् ।सायद त्यसैको सिको गरेर हो कि कुलतमा फसेका गाउँले दाइहरुको सङ्गतले हो चुरोट पनि तान्न सिक्नुभएको रहेछ रे । देखेको होइन सुनेको कुरा रे। उहाँहरुको लागि यसरी नै विद्यालयमा दस बज्थ्यो खरियानमा चार बज्थ्यो। पढेर घर फर्कने अरु विद्यार्थीसँगै घर आउनुहुन्थ्यो । यो उहाँको दैनिकी बनेको थियो । तिम्रो हजुरबुवाले भन्नुहुन्थ्यो फूलको सङ्गतले कमिला पनि मन्दिरमा पुग्छ ,पूज्य हुन्छ । फूलको सङ्गत गर्नुपर्छ बाबु ।फूल जस्तो सुन्दर जीवन छ मीठो सुवास छर्न सक्नुपर्छ ।खराब र कुलतमा फसेकाहरुको सङ्गतबाट छुटाउनको लागि प्रयास नगरेको होइन ।एक दुई पटक सम्झाइ ,बुझाइअनि पिटाइ पनि गर्नु भएको थियो रे । अब त सुधार भयो होला नि कति केटाकेटीको पछाडि लागेर केटाकेटी बनिराख्ने । जो बिग्रन्छ आफू बिग्रन्छ ,आफ्नो भविष्य विगार्छ ।पहिला त उमेरमा सानै हुनुहुन्थ्यो । अब त उमेर पनि अलि बढिसकेको थियो। कक्षा पनि उन्नती भएको थियो। उहाँ त कक्षा तीनमा पुगिसक्नु भएको थियो रे । सुधारका सङ्केत पनि देखिएकाले हजुरबुवा ढुक्क हुनुभएथ्यो रे । दुई वर्षपछि मात्र थाहा भयो छोडेनछ खराबहरुको सङ्गत गर्ने कुलतले उहाँलाई। छोएनछ तिम्रो हजुरबुवाको अर्ति र उपदेशले।यस विषयमा खबर गरेनन् कसैले पनि ।बेखबर रहे अभिभावक । यो क्रम पनि निरन्तर महिनौंसम्म चलिरह्यो।निगरानी भएन भाग्ने विद्यार्थीको। न त निगरानी पुग्यो शिक्षकको न त अभिभावक भनाउँदाहरुको। तिम्रो हजुरबुबा हजुरआमा भने छोरो स्कुल पढ्न गएको ठानेर खुब खुसी हुनुहुन्थ्यो तर तिम्रो बाबाको कर्तुतको विषयमा कसैलाई थहा थिएन । यो कुरा तिम्रो हजुरआमाले म १२ वर्षको उमेरमा बिहे भएर यो घरमा आउँदा भन्नुभएको थियो ।
आमा भन्दै जानुभयो म सुन्दै गएँ ।समय आफ्नै गतिमा बित्दै गयो । एक दिन के भएछ भने तिम्रो बाबा स्कुल गएको तर स्कुलमा गुच्चा खेल्दै गर्दा शिक्षकले पिट्नुभयो अनि भएभरिको गुच्चा पनि खोस्नु भएछ । थप गुच्चा झोलामा छ कि भनी खोज तलासी गर्दा भेटिएको थियो चुरोटको बट्टा त्यो पनि उहाँकै कुलती साथीले आफ्नो झोला सम्झेर राखेको रहेछ । गहुँमा घुन पिसिएझै उहाँ पनि पुसिनु भयो।हुन त कर्म अनि सङ्गतको फल पनि थियो त्यो । सुरु भयो थप अनुसन्धान ।लहरो तान्दा पहरो थर्किएझैँ अफिस तानिए पाँच सात जना उहाँकै साथीहरु।सबै विद्यार्थीहरुमाथि डण्डा बर्साइयो रे। त्यसको अघिल्लो दिन उच्शृङ्खल प्रवृत्तिका माथिल्लो कक्षामा पढ्दै गरेका बच्चाहरु जसले लामा लामा कपाल पालेका थिए तिनीहरुलाई शिक्षकले कपाल छोट्ट्याएर आउन भन्नुभएको रहेछ तर नमान्दा त्यही दिन त्यस्ता बदमास केटाहरुलाई अफिसमा लगेर कपाल काटिदिएका नमिलाइकन ।मिलाएर काट्ने कुरा पनि भएन ।किन त भन्नुहोला? कपाल काट्नका लागि नै भनेर शिक्षक विद्यालय आएको होइन नि। हुन त तेरो बाबा कपाल पाल्ने सौखिन त हुनुहुन्न्थ्यो तर पनि मनमा डरको भूत नचढेको भने होइन । ।तिम्रो बाबाचाँहि सँक्क सुँक्क रुँदै घर आउनुभयो रे हजुरआमा छोरालाई के भयो भनेर दगुर्दै छोरालाई काखमा लिदै आँसु पुछिदिनुभयो।अनि रुवाइको कारण सोध्नुभयो। छोरोको सबै कुरा सुनेपछि हजुरआमा एकदमै भावुक बन्दै भन्नुभयो,“ मैले जन्माएको सन्तान मैले आजसम्म एक थप्पड पनि छोएको छैन; कुन शिक्षकले मेरो प्राण भन्दा प्यारो छोरोलाई पिटेको हो? बिचारा मेरो छोरो ! पख तिमी त्यसको हिसाबकिताब म भोलि स्कुलमा गएर लिनुपर्छ भनेर कुर्लिनुभया । भोलिपल्ट स्कुल जाने अाँट गर्नुको सट्टामा हजुरआमाले मैले आफ्नो छोरालाई कुटाउनको लागि जन्माएको हो र ?भोलिबाट मैले मेरो छोरालाई स्कुल पठाउदिनँ । “एक पठाउदिनँ ; दुई पठाउदिनँ ; पठाउँदै पठाउदैनँ ।मै आफूसँग नै राख्छु ।मेरो प्राण प्यारो छोरो मेरो हिरा तिमी भोलिदेखि स्कुल जानुपर्दैन है । नरोउ बा नरोउ ।केही बेरपछि छोराको मुखमा खुसीको आभा छायो । हजुरआमाको निणर्यलाई नकार्नको लागि हजुरबुबाले प्रयास त गर्नुभयो तर असफल रहनुभयो।त्यसैको फल हो बाबु हाम्रो आज यो हबिगत भएको छ भन्नू भयो। तिम्रो बाबाका सङ्गै पढने कति साथीहरु त सरकारी जागिर खाइरहेका छन् कोही बैंकमा, त कोही मालपोतमा त कोही बन कार्यालयमा, जिल्ला प्रशासन कार्यालयमा, हुलाकमा ,सिपाहीमा यस्तै यस्तैमा रे हाम्रो भने यस्तो हालत ।यो सुनेर मेरा आँखाहरु रसाए म आफ्नो बिगत सम्झिन पुगेँ मलाई नराम्रो लाग्यो।
समय कहाँदेखि कहाँ पुगिसक्यो।हामी भने जहाँको त्यहीँ ।मलाई मेरो बुवाप्रति दया जागेर आयो।उहाँका आखाहरु निर्दोषझैँ लागिरहेको थियो ।कोही कसैको कारणले बर्बाद हुन नपरोस् प्रबिधिले फड्को मारेसङगै विद्यार्थीहरुमा नकारात्मकता भरिएका छन ।दुख लाग्छ यस्ता दर्दनाक घटनाहरुको पोको खोल्दा ।हाम्रो देशमा यस्ता कयौं घटना दिनप्रतिदिन घटित भैरहेका छन्। बाबाआमाको एउटा भूलले कसैको बालबच्चाहरु गलत बाटोमा लागिरहेका छन् त कसैको जीवन नै अधोगतितिर धकेलिएको पाइन्छ। मेरो बाबाको नमिठो कथा भए पनि उहाँको प्रेरणा र हामीप्रतिको सद्भाव र लगावले गर्दा उहाँ हाम्रो माहान गुरु हुनुहुन्छ ।भले ही उहाको लागि कोही गुरु बन्न सक्नुभएन ।उहाँ त हाम्रो लागि सधैं बलिरहेको मैनबत्तीझैँ ।जो आफू जलिरह्नुभयो ।यथार्थ यही हो अनि सत्य पनि ।हुन त सत्य लुकाएर पनि नलुक्ने हुन्छ।
हामी राजनीतिक र आदर्शका गफ गर्छौं ।यथार्थ र वास्तविक कुराभन्दा कयौ परका।बालबालिका निर्दोष हुन्छन् ।त्यसैले हामी सबै अभिभावकले बालबालिकाहरुको सबै निणर्यलाई शिरोधार्य गर्न आवश्यक नठान्दा पनि हुने रहेछ।बालबालिकालाई निगरानी गर्नुपर्दो रहेछ । हामीलाई फुर्सद कहाँ छ र? संस्कृति बिर्सेर विकृती अँगाल्न आतुर हामी २१ औँ शताब्दीका मानिस। । कतै हाम्रो सानो त्रुटिले गर्दा हाम्रा छोराछोरी गलत संगत, र कुलतमा त फसिरहेका छैनन् ? याद राख्न जरुरी हुन्छ।बाबाआमा पछिका दोस्रो जिम्मेवार गुरु शिक्षक हुन् ।उनीहरु कसैको कुभलो चाँहदैनन् भन्दै मेरो प्रश्नको उत्तरमा मेरो बाबाले आँसु झार्दै भन्नुभयो मेरी आमाले उहिले मलाई दुई थप्पड हानेर स्कुल पठाइदिएको भए आज म……. पनि मेरा साथीजस्तै सरकारी हाकिम हुन्थेँ ।सपनाहरु सबै हावासरि उडेर गयो ।म दोष कसलाई दिउँ?

© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group