
कपिलवस्तु जागरणः
२८ भाद्र २०७९,
सनशाईन सामाजिक बिकास संस्थाको २४ औं वार्षिक स्थापना दिवसको अवसरमा आयोजना गरिएको रक्त दान कार्यक्रम आज सम्पन्न भएको छ । संस्थाको कार्यालय बुद्धभूमि १० चेतरादेईमा गरिएको कार्यक्रममा १ जना मधेशी महिला सहित ३९ जनाले रक्त दान गरेका छन् । “रक्त दान जिवन दान ” भन्ने मुल नाराको साथ रगतको अभावमा कसैले पनि ज्यान गुमाउन न परोस भन्ने उद्देश्यकासाथ कार्यक्रमको आयोजना गरिएको कुरा संस्थाका कार्यकारी निर्देशक कृष्ण कुमार श्रेष्ठले बताउनु भएको छ । कार्यक्रम संस्थाको आयोजना, नेपाल रेडक्रस सोसाईटी तौलिहवा शाखाको प्राबिधिक सहयोग र बुद्धभूमि नगरपालिकाको सहकार्यमा भएको छ।

सनशाईन सामाजिक बिकास संस्थाका अध्यक्ष शिव लाल यादवको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथीको रुपमा रक्त संकलन केन्द्रका संयोजक साधिका यादव रहनु भएको थियो । अहिलेको अवस्थामा रगतको अभावमा केही बिरामीहरुले समस्यामा परिरहेकोले रक्तदाताहरुबाट संकलन हुने रगतबाट रेडक्रस तथा बिरामीहरुलाई ठूलो सहयोग पुग्ने कुरा साधिका यादवले बताउनु भयो । त्यसै गरी तौलिहवा अस्पताल बिकास समितीको अध्यक्ष समेत रहेका संस्थाका अध्यक्ष शिवलाल यादवले अस्पतालमा बिरामीहरु आउँछन् रगतको अभावमा दुख पाउँछन तर रगत दान गर्नु पर्छ भन्ने सचेतनाको अझै पनि विकास न भएको कारणले संस्थाले समुदायमा सचेतना अभिबृद्धि गर्ने उद्धेश्यले पनि आफ्नो वार्षिक उत्सवको अवसरमा ७ बर्ष देखी रक्त दान कार्यक्रम संचालन गर्दै आएको बताउनु भयो । कार्यक्रमको उदघाटन शत्रको संचालन संस्थाका सदस्य राम सेवक यादवले गर्नु भएको थियो । कार्यक्रमको संयोजन संस्थाका पूर्वअध्यक्ष एव्ं रेडियो कपिलवस्तुका स्टेशन म्यानेजर तुलसीराम यादव र संस्थाका सचिव भगवानदास यादवले गर्नुभएको थियो । सनसाइन समाजिक विकास संस्था २०५५ साल भाद्र ३० गते स्थापना भइ कपिलवस्तु जिल्लामा निरन्तर रूपमा स्वास्थ्य, शिक्षा, संचार एवं जीबिकोपार्जनको क्षेत्रमा काम अग्रणी भूमिका निर्वाह गर्दै आएको छ । रक्तदान गर्नुपर्छभन्ने भन्ने ज्ञान ग्रामिण क्षेत्रमा पुर्याउने उद्देश्यले प्रत्येक बर्ष रक्तदान कार्यक्रम संचालन हुँदै आएका छन ।