
कपिलवस्तु जागरण
लोकतान्त्रिक समाजवादी पार्टी (लोेसपा) कपिलवस्तु दुबै सदनबाट पारित गरी प्रमाणीकरणका लागि पठाइएको नागरिकता विधेयक फिर्ता गरेको भन्दै विरोध प्रर्दशनमा उत्रिएको छ ।
पार्टीका नेता कार्यकर्ताहरुले नागरिकता सम्बन्धी विधेयकलाई प्रमाणीकरण नगरी १३ दिनसम्म झुलाएर पुनः फिर्ता पठाएको भन्दै राष्ट्रपतिको विरोधमा उत्रिएका हुन् ।उनीहरुले राष्ट्रपति विरुद्ध चर्को नाराबाजी गर्दै उनीहरुले राष्ट्रपतिको सो कदमको घोर विरोध गरेका थिए । पार्टीका जिल्ला अध्यक्ष कैलाश अग्रहरीले दुबै सदनले पास गरे पनि राष्ट्रपतिले विधेयक फिर्ता गर्नू खेदजनक कुरा भएको बताए । नागरिकता पाउनु नागरिकको नैसर्गिक अधिकार रहेको तर राष्ट्रपतिले त्यसको ख्याल नगरी विधेयक फिर्ता गरेको उनले बताए । सो अवसरमा पार्टीका नेता मधुसुदन चौधरीले नागरिकताविहीनहरुलाई यथाशक्य चाँडै नागरिकता दिनुपर्ने बताए । त्यसो नगरिए पार्टी आन्दोलनमा जान बाध्य हुने उनले चेतावनी दिए । विरोध प्रर्दशनमा लोसपा नेता तथा शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी लगायतका नेताहरुले राष्ट्रपतिको कदम विरुद्ध चर्का नारा लगाएका थिए ।