राष्ट्रपतीय प्रणाली एक मात्र विकल्प : जसपा अध्यक्ष उपेन्द्र यादव

कपिलवस्तु जागरणः

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकको राजनीतिक स्थायित्वका लागि कार्यकारी राष्ट्रपतीय प्रणाली एक मात्र विकल्प रहेको बताएका छन् ।

समाजवादी युवा संघ नेपालको जनकपुरधाममा मंगलवारबाट शुरु भएको राष्ट्रिय भेलाको उद्घाटन समारोहमा अध्यक्ष यादवले वर्तमान संसदीय प्रणालीले राजनीतिक अस्थिरता बढाएकोले त्यसलाई अन्त्य गरी राजनीतिक स्थिरता कायम गर्दै विकास र समृद्धिको बाटोमा लाग्न प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीको विकल्प नरहेको उल्लेख गरे । ‘अहिलेको व्यवस्थाले निर्वाचन प्रणाली महंगिएको छ, करोडौ खर्चेर चुनाव जितेकाहरु बाट सेवाको अपेक्षा गर्न सकिदैन ’अध्यक्ष यादवले भने–‘निर्वाचन प्रणाली फेरौ, प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक संसदीय निर्वाचनमा जाऔ । त्यसले भ्रष्टाचार नियन्त्रण गर्नुका साथै समृद्धिको बाटोमा लाग्न मद्दत पु¥याउछ ।’ सांसदहरु मन्त्री बन्ने व्यवस्थाको अन्त्य भए चुनावमा हुने खर्च आफै नियन्त्रित हुने र भ्रष्टाचार पनि अन्त्य हुने उनको कथन थियो । हतारमा ल्याइएको संविधानको वेथितिहरु एक पछि अर्को उजागर हुन थालेको उल्लेख गर्दै अध्यक्ष यादवले पहिचान सहितको संघीय पुनःसंरचना र निर्वाचन प्रणालीको विषयमा संविधान संशोधनको विकल्प नरहेको दाबी समेत गरेका थिए । परिवर्तन, सृजना, निर्माण, अविष्कारको पर्याय रहेका युवाहरु चेतनशिल र संगठित हुनु पर्ने आजको प्रमुख आवश्यकता रहेको उल्लेख गर्दै अध्यक्ष यादवले युवाहरुको लागि राज्यले शिक्षा र रोजगारीको ग्यारेन्टी गर्नु पर्ने उल्लेख गरे ।

© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group