बालकोटमा रवीन्द्र मिश्र र ओलीबीच छलफल, एक मुठी सिक्का उपहार

रवीन्द्र मिश्र र केपी शर्मा ओली। तस्बिर: रवीन्द्र मिश्रको ट्वीटरबाट

विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्र र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा छलफल भएको छ।

आइतबार साँझ करिब अढाइ घन्टा आफूहरूबीच छलफल भएको उल्लेख गर्दै मिश्रले ट्वीट गरेका छन्।

आगामी निर्वाचन, देशको राजनीति/भू-राजनीति, विदेशी चासो/हस्तक्षेप, राजसंस्थाको आवश्यकता र असान्दर्भिकतालगायत विषयमा कुराकानी भएको मिश्रको भनाइ छ।

ओलीको राजनीतिक यात्रा, जेल र गोलघरको पीडा, चुच्ने नक्सा पारितपूर्व भोगेका जटिलतालगायत विषयमा पनि कुरा भएको मिश्रले उल्लेख गरेका छन्।

‘सबै विषयमा धाराप्रवाह बोल्न सक्ने उहाँले मलाई भन्नुभयो, तपाईं चेस खेलेर आएको मान्छे अहिले बास्केट बलको मैदानमा हुनुहुन्छ, जहाँ छलछाम, घम्साघम्सी सबै हुन्छ। नआत्तिनु होला,’ मिश्रले भनेका छन्।

साथै ओलीले मिश्रलाई एक मुठी सिक्का उपहार पनि दिएका छन्।

© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group