यो निर्वाचन प्रणालीले देशको हित गर्दैन : यादव

गोरखा — जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सबैभन्दा महँगो चुनाव प्रणालीले विकास नहुने बताएका छन् । जसपा गोरखाको आमसभालाई मंगलबार सम्बोधन गर्दै यादवले खिचडी निर्वाचन प्रणालीले देशको हित नगर्ने बताए ।

‘जनताको सेवा गर्न प्रतिनिधि छान्ने नै हो, तर ती प्रतिनिधिहरुले राँगा, सुँगुर काट्ने, भट्टी साफ गरिदिन किन परेको हो, त्यो गरेर जनताको सेवा हुन्छ,’ उनले भने,‘महँगो निर्वाचन प्रणालीमा जतिसुकै योग्य र सक्षम भए पनि गरिब वर्गका मानिसले प्रतिस्पर्धा गर्न गाह्रो हुन्छ, यसले देशको हित गर्दैन, यो प्रणाली बदलेर पार्टीले पनि खर्च गर्नु नपर्ने, उम्मेदवारले पनि खर्च गर्नु नपर्ने निर्वाचन प्रणाली आवश्यक छ ।’

अहिलेको जस्तो शासकीय स्वरुपले राजनीतिक स्थिरता हुन नसक्ने यादवले बताए । ‘राजनीतिक स्थिरता हामीले हेरेका छौं, दुई तिहाइको सरकार पनि चलेन, बहुमत अल्पमतको सरकार पनि चल्दैन,’ उनले भने,‘अहिलेको जस्तो शासकीयस्वरुपले आर्थिक विकास र समृद्धि संभव हुन्न, त्यसैले जनताबाट निर्वाचित कार्यकारिणी अधिकारसहितको राष्ट्रपतिको चुनाव हुनुपर्छ ।’

कार्यकारी अधिकारसहितको राष्ट्रप्रमुखले विज्ञहरु लिएर सरकार निर्माण गर्ने खालको शासकीयस्वरुप आवश्यक रहेको उनले बताए । ‘चार कक्षा पढेका मान्छेलाई शिक्षा मन्त्री बनाएका कारण शिक्षा क्षेत्र ध्वस्त भयो, अर्थशास्त्र नबुझेका, नपढेका मान्छे हुँदा अर्थतन्त्र ध्वस्त हुँदै गएको छ, जसलाई कानुनको नलेज छैन, उ कानुनमन्त्री हुँदा देशको दुर्दशा नभए के हुन्छ ?,’ प्रश्नले गर्दै भने, ‘सांसदहरुको खरिद बिक्रीको बजार लाग्छ, जसले किन्न सक्यो, लैजान सक्यो । उसैको सरकार लाने भयो सांसदहरु बेलुकी ठीक छ, बिहान उठेर हेर्दा को कहाँ गयो ठेगान हुँदैन ।’

न्याय प्रणाली पनि झन्झटिलो र महँगो हुँदै गएको उनले बताएका थिए । न्याय प्रणाली सामान्य परिवारको पहुँचमा नरहेकाले न्यायलाई सबैको पहुँचमा पुर्‍याउन पुनर्संरचनाको आवश्यक रहेको यादवको भनाइ थियो ।

(कान्तिपुर दैनिकबाट सम्भार )

© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group