बिगतका दिनमा खासै राजनीतिक चिन्ता र चाँसो नराख्ने तर हालै औपचारीक रूपमा जसपा नेपालमा प्रबेश गरि यहि २०७९ साल बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा कपिलवस्तु नगरपालिकाको मियर पदमा उमेदवारी दिने घोषण गर्नुभएका पूर्वशिक्षक बुद्धिजीवि र समाजिक अभियन्ता राम अचल यादव (स्वामी जी) संग कपिलवस्तु जागरणका सम्पादक परशुराम यादवले राजनीतिक सेरोफेरोमा रहेर गर्नुभएका कुराकानी ।
प्रश्नः सर नमस्कार । अरूबेला तपार्इले राजनीतिमा खासै वास्ता नराखेर समाजिक कार्यमा संलग्न हुनु हुन्थ्यो । अध्ययन अनुसन्धानको क्षेत्रमा सक्रिय भएर काम गर्नु हुन्थ्यो तर अहिले यकायाक आएर फरक क्षेत्रमा हाम फाल्नु भएको छ । यसरी सेवाको क्षेत्र नै बदल्ने काम तपाइको मनमा कसरी आयो ?
राम अचल यादवः हुन त मैले बिगतको जीवन पनि कुनै न कुनै रूपमा समाज सेवामा नै समर्पित गर्दै आएको थिएँ । करीब तीस बर्षको समय ग्रामिण क्षेत्रमा रहेका महिला, बालबालिका तथा गरिबीको क्षेत्रमा खर्च गरेको छु । त्यसबाट मलाइ समुदायको समाजिक तथा भौतिक विकास गर्नका लागि धेरै अनुभव पनि प्राप्त भएका छन् । मैले समाजिक विकासको क्षेत्रलाइ छोडन् खोजेको पक्कै पनि छैन बरू राजनीतिक रूपमा सफल भएर समाजको लागि थप सेवा गर्ने उदेश्यले राजनीतिमा प्रबेश गरेको छु ।
प्रश्नकर्ताः राजनीति र समाजिक अभियानलाइ कसरी बुझनु भएको छ ?
राम अचल यादवः हुन त दुवै काम समाजिक विकासको लागि गरिन्छ तर राजनीतिको दयारा फराकिलो हुन्छ । राजनीतिले नीति निर्माण तहमा काम गर्ने हो । कार्यन्वयनको लागि एउटा सिस्टम बसाल्ने हो । विकासको बजेट बिनियोजना गरेर सहजिकरण गरिदिने हो । समाजिक अभियान समाजलाइ सचेत बनाएर अगाडि बढाउने हो । अहिलेसम्मको कामको दौरान मैले के अनुभव गरेभने राजनीतिले धेरै कुराको निर्धारण गरेको हुन्छ । राजनीतिक रूपमा सुधार नभएसम्म समाजमा अमुलपरिवर्तन गर्न सकिदैन ।
प्रश्नकर्ताः तपाइले नेपाली काँग्रेस, एमाले जस्ता ठूला पार्टी नरोजेर जसपा नै किन रोज्नु भएकोछ ?
रामअचल यादवः नेपाली कांग्रेस र एमालेको राजनीति हामी २००७ सालदेखि देख्दै र भोग्दै आएका छौं । यिनिहरू बारम्बार सत्तामा पुगे तर जहिले पनि जनतालाइ धोका दिएका छन । नेपाली कांग्रेसले बारम्बार बहुमत पायो तर पुरै कार्यकाल कहिले पनि सरकार चलाउन सकेन । कम्युनिष्टहरूले पनि बहुमत पाए तर ५ बर्ष सरकार चलाउन सकेनन् । यसबाट उनीहरू असक्षम भएको प्रमाणित भएको छ । र अर्को कुरा ती दलहरू कुनै खास बर्ग र समुदायको मात्रै प्रतिनीधित्व गरेका छन । मधेशी, दलित, जनजाती, महिला, मुस्लिम लगायतका सिमान्तिकृत बर्गलाइ उपेक्ष गरेर बढेका छन । राज्यलाइ समाबेशी बनाउने कुरामा पनि उनीहरू सकरात्मक छैनन् । नेपालमा जसपा मात्रै यस्तो पार्टी छ जसले सवै समुदाय, बर्ग, क्षेत्र र लिङ्गलाइ समान अधिकारको लागि वकालत गरेको छ । पहिचानको लडाइमा जसपा अग्र स्थानमा छ । अहिलेसम्म समाबेशी र समानुपातिक प्रतिनिधित्वको सवाल उठाउने एकमात्र पार्टी जसाप हो । हरेक बर्ष हजारौ सिमान्तिकृत समुदाय जागिर र छात्रबृति एवं राजनीतिक न्युक्ति पाएका छन सवैको पछाडि जसपाको नै योगदान रहेको छ । मैले कुनै लहडमा लागेर, व केही व्यक्तिगत फाइदा पाउन वा स्वार्थबास जसपामा प्रबेश गरेको छैन । जसपाले समाजबादलाइ मिसनकै रूपमा अगाडि बढाएकोले मैले जसपालाइ रोजेको छु । मलाइ बिश्वास छ नेपालको कोइ पनि पढेलेखेको, थोरै पनि राजनीति बुझेको युवा छ भने जसपा बाहेक दल रोज्दैन । ढिलो चाँडो अवको बिकल्प जसपा नै हो ।
प्रश्नकर्ताः चुनावी प्रचारप्रसार कसरी शुरू गर्नुभएको छ ?
रामअचल यादवः हाम्रो चुनावी प्रचारप्रसारमा कुनै तामझाम हुनैदन । हामी समाजिक संजालको सदुपयोग गरेर आफना कुरा युवा बर्गसम्म पुर्याउने प्रयास गर्छौ । व्यक्तिगत तथा सामुहिक घरभेट, साथीभाइहरूसँग छलफल गर्दै रणनीति बनाउदै अगाडि बढने हो । कपिलवस्तु नगरपालिकामा रामअचल नाम नचिन्ने कम हुनुहुन्छ । नेताको रूपमा नचिने पनि कसैले भाइको रूपमा कसैले साथीको रूपमा त कसै छोरा भतिजाको रूपमा कसैले स्वामी जीको रूपमा चिन्नु भएको छ । सिर्फ मैले मेयरमा उठेको छु भन्ने सन्देशमात्र पुर्याउनु छ ।
प्रश्नकर्ताः तपाइले निर्वाचनमा जनतासँग के के प्रतिबद्धता गर्नु हुन्छ अर्थात जितेपछि कुन कुन कामलाइ प्राथमिकतामा राख्नु हुन्छ ?
रामअचल यादवः म पहिलो कुरा त जनतासँग वहाँहरूकै स्तरमा बसेर काम गर्ने प्रतिबद्धता गर्छु र बाँकी विकासको काममा प्रतिबद्धताभन्दा पनि प्रतिज्ञा गर्छु । विकासको एउटा ठूलो र किलियर नक्शा मेरा दिमागमा छ जुन कि छोटो भेटमा बताउन गर्ह्रो हुन्छ । समान्यतय भन्ने हो भने सर्वप्रथम राज्यको स्रोतसाधनमा सवैको समान पहुचको लागि प्रबन्ध मिलाउने छु । समाजिक न्यायको सिद्धान्तलाइ पूर्ण रूपमा पालन गर्दै विकासको कामलाइ प्राथमिकिरण गरेर अगाडि बढने छु । विकासको काममा शिक्षा र स्वास्थ्यलाइ ग्राह्यता दिइने छ जसमा एक वडामा कम्तिमा पनि १ माध्यमिक तहको नमुना बिद्धालय बनाउने छु । प्रत्येक वडामा सुबिधा सम्पन्न स्वाथ्य केन्द्र बनाउने छु । एक घर एक चर्पी र एक धारा कार्यक्रमलाइ अगाडि बढाइने छ जसबाट खानेपानी र सरसफाइमा नमुना बस्तीको विकास हुनेछन । बस्तीस्तरमा युवा सुचना केन्द्र स्थापनामा जोड दिने छु । ग्रामिणभेगमा सहकारी संस्थाहरूलाइ सुदृढिकरण गरि समुदायका महिला, गरिब तथा स्रोतबिहिन समुदायको पहुच बढाइने छ । लुम्बिनी विकास कोषसँग समन्वय गरि पुरातात्विक स्थल तिलौराकोट, निगलिहवा, गोटिहवा, कुदान, तौलेश्वरनाथ मन्दिर आदि स्थानको विकासमा जोड दिइ पर्यटन प्रवर्धनमा विशेष जोड दिनेछु । सार्वजनीक स्थलमा सिसि क्यामरा जडान गरि शान्ति सुरक्षालाइ बलियो बनाउने योजना रहेको छ ।
प्रश्नकर्ताः तपाइसँग् प्रतिस्पर्धा गर्ने एमालेको उमेदवारको सांसद बृजेश गुप्ताको समर्थन रहने छ र नेपाली कांग्रेस बिगत ५ बर्षदेखि मेयरको पदमा काम गरेको छन। यि दुइ हस्तीसँग् कसरी प्रतिस्पर्धा गर्नुहुन्छ ?
रामअचल यादवः मलाइ लाग्छ पहिलेभन्दा अहिलेको समय धेरै फरक भइसकेको छ । जनता स्वतन्त्र छ बाबुबादको यो जमानामा सम्भवन कम छन । र वहाँहरू काम गर्ने औसर पनि पाउनु भएको थियो तर केही गर्न सक्नु भएको छैन । अहिले जनताले कामको मुल्यांकन गर्ने हो । मैले काम गर्ने मौका पाएको छैन । वहाँहरूले मेरो व्यक्तिगत व्यवहार दैनिक कार्य र मेरो क्षमता एवं योग्यतालाइ बिश्वास गरेर भोट दिने हो तर एक पटक औसर पाएपछि काम गरेर देखाउँछ । यतिमात्र भन्छु कि प्रतिबद्धता अनुरूप काम गर्न सकेन भने फेरी भोट माग्न आँउदैन ।
प्रश्नकर्ताः अन्तमा अरू केहि भन्न चाहनु हुन्छ ?
रामअचल यादवः खासै केही भन्नुछैन । तर सम्पूर्ण जागरूक युवाहरूलाइ जसपामा अबद्ध हुन अनुरोध गर्दछु । राजनीतिले नै हाम्रो र देशको भविष्य निर्धारण गर्ने भएकोले निर्वाचनमा सक्रियताका साथ भाग लिन अनुरोध गर्दछु । साथै सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीलाइ नयाँ बर्षको शुभकामना सहित जसपामा संगठित हुन अनुरोध गर्दछु ।
प्रश्नकर्ताः समय दिएर कुराकानी गर्नुभएकोमा धन्यवाद सर
राम अचल यादवः तपाइसँग् राजनीतिक बिचार बिमर्श गरेर खुसी लाग्यो र मेरो बिचार व्यक्त गर्ने औसर दिनुभएकोमा धन्यवाद ।