मेरिकन डायबिटिज एसोसिएसनका अनुसार सन् २०१९ मा १८ वर्षभन्दा माथिका नौ करोड ६० लाख अमेरिकी प्रि–डायबिटिज (बोर्डरलाइन डायबिटिज)मा थिए । प्रि–डायबिटिजमा भए पनि उपचारात्मक एवं स्वस्थकर जीवनशैली अपनाए टाइप–२ डायबिटिजको खतरा पछि सर्न वा सदाका लागि हराउन सक्ने पोषणविद्हरूको सुझाव छ । कतिपय व्यक्तिमा त जीवनशैलीमा सामान्य परिवर्तनले मात्रै पनि चिनीको स्तर सामान्य स्तरमा ल्याउन सकिने पुष्टि भएको छ । प्रि–डायबिटिजमा विज्ञता हासिल गरेका रजिस्टर्ड डाइटिसियन न्युट्रिसियनिस्ट (आरडिएन्स)हरू टाइप–२ मधुमेहको जोखिम घटाउन केही स्वस्थकर बानी सिफारिस गर्छन् ।
तनाव व्यवस्थापन
तनावले शरीरको प्रतिरक्षा प्रणालीलाई क्षति पुर्याएर स्वास्थ्यमा नराम्रो असर पुर्याउँछ र थुप्रै प्रकारका बिरामीको सम्भावना बढाउँछ । तनावले उत्पादन हुने कोर्टिसोलजस्ता हर्माेनहरूले शरीरको तौल र रगतमा चिनीको मात्रा वृद्धि गर्छन् । नियमित रूपले ध्यान एवं गहिरो श्वासप्रश्वासका अभ्यासका साथै शरीर तन्काउने व्यायाम दैनिक तालिकामा थप्नु आवश्यक हुन्छ । संगीत सुन्ने, पुस्तक पढ्ने, चित्र बनाउनेजस्ता अफ स्क्रिन गतिविधिद्वारा पनि तनाव कम गर्न सकिन्छ ।
पर्याप्त निद्रा
निद्रा पुगेन भने त्यसले हामीमा चिढचिढापन मात्रै विकास गर्दैन, स्वस्थकर खानपानको बानीलाई पनि खलबल्याउँछ । पर्याप्त निद्रा नलाग्दा शरीरको इन्सुलिनप्रतिको प्रतिक्रियामा पनि गडबड गर्छ । निद्रामा थोरै गडबडीले पनि ग्रोथ हर्माेन एवं कोर्टिसोलको स्तरमा परिवर्तन गर्ने हुँदा शरीरलाई थप इन्सुलिन प्रतिरोधी बनाउँछ । एक दिनको खराब निद्राले अर्काे दिन नै शरीरलाई इन्सुलिन प्रतिरोधी बनाउँछ । अमेरिकाको सेन्टर अफ डिजिज कन्ट्रोल (सिडिसी)का अनुसार एउटा वयस्क मान्छेले सात घन्टा सुत्नु आवश्यक हुन्छ ।
आधा थाली सागसब्जीले भर्ने
तपाईं बोर्डरलाइन डायबिटिजमा हुनुहुन्छ र आफ्नो खानाको आधा थाली स्टार्च नभएका सागसब्जी एवं फलफूलले भर्न थाल्नुभयो भने जोखिम कम हुन्छ । नन–स्टार्ची तरकारीजन्य खानेकुरा न्यून क्यालोरीयुक्त, न्यून कार्बाेहाइडेटयुक्त हुन्छन् । त्यसैले यसलाई भरपेट खान पनि सकिन्छ । यी कुरामा स्वास्थ्यलाई समृद्ध बनाउने फाइटोन्युट्रियन (एन्टिअक्सिडेन्ट एवं एन्टिइन्फ्लामेटरी तत्व, जसले रोगप्रतिरोध क्षमतालाई पनि बढाउँछ) पनि प्रशस्तै पाइन्छन् ।
अत्यधिक अल्कोहलबाट बच्ने
अत्यधिक रक्सी (अल्कोहल) सेवनले पनि टाइप–२ मधुमेहको जोखिम बढाउँछ । अत्यधिक अल्कोहल सेवनले प्यान्क्रियाज (आमाशय) सुन्निन्छ र यसलाई इन्सुलिन बनाउन असमर्थ बनाउँछ । उनीहरू महिलालाई प्रतिदिन एक पेग र पुरुषलाई बढीमा दुई पेगभन्दा बढी अल्कोहल नलिन सिफारिस गर्छन् ।
शारीरिक गतिविधि
घन्टाैँ टिभी वा कम्प्युटरअघि बसिरहने व्यक्तिहरूमा टाइप–२ मधुमेह विकासको जोखिम उच्च हुने पाइएको छ । शारीरिक व्यायामको अभाव जीर्ण रोगहरूको मुख्य योगदानकर्ता हो । शारीरिक गतिविधिले इन्सुलिन संवेदनशीलता वृद्धि गर्छ । मांसपेशीहरू चलाउँदा चिनीको स्तर घट्न सहयोग पुग्छ । सकेसम्म दिनहुँ नसके पनि कम्तीमा साताको पाँच दिन दैनिक ३० मिनेट शारीरिक व्यायाम गर्दा शरीरमा इन्सुलिन प्रतिरोधको क्षमता बढ्छ ।
बोटबिरुवामा आधारित खानेकुरा
नट्स, सिड्स (बियाँजन्य खानेकुरा), फलफूल, सागसब्जी, होल ग्रेन्स (नपिसी खान मिल्ने अनाज) र सिमीलगायतका गेडागुडीमा रोगसँग लड्ने पोषक तत्व प्रशस्त हुन्छन् । यी पोषक तत्वले हृदयरोगको जोखिम घटाउँछन् । कोलेस्ट्रोल र चिनीको स्तरलाई ठिक राख्नुका साथै मुडलाई पनि ठिक बनाइराख्छ । डायबिटिज लाइफस्टाइलविद् एवं डायबिटिजएभ्रिडेडटकमका संस्थापक टोबी स्मिथसन भन्छन्, ‘वनस्पतीमा आधारित भोजनमा प्रशस्त फाइबर, न्यून स्याचुरेटेड फ्याट हुने र यसले इन्सुलिन सेन्सिटिभिटीमा सुधार गर्ने भएकाले यस्तो भोजन टाइप २ डायबिटिजको जोखिम घटाउन प्रभावकारी हुन्छ ।’ अनुसन्धानले यस्तो भोजनले टाइप २ मधुमेहको जोखिम ३० प्रतिशतले घटाउँछ भन्ने पुष्टि भएको छ । –एजेन्सी