५ हत्या मुद्दाका आरोपितलाई सफाइ

काठमाडौँ — बादशाह भनिने ‘मोस्ट वान्टेड’ नसिम अहमद खानले कर्तव्य ज्यानका ५ मुद्दामा एकै पटक सफाइ पाएका छन् । थुनामा रहेका उनीविरुद्ध कर्तव्य ज्यानका ६ मुद्दा थिए । ०६४ माघपछि ९/१० वर्षयता भएका ६ वटा हत्याकाण्डमा उनको नाम जोडिएको थियो ।

आइतबार र सोमबार पक्ष–विपक्षका कानुन व्यवसायीको बहस पैरवीपछि कपिलवस्तु जिल्ला अदालतका न्यायाधीश जवाहरप्रसाद सिंहको इजलासले उनलाई ५ मुद्दामा सफाइ दिएको हो ।

मुद्दामा सुनुवाइ चलिरहँदा दुवै दिन अदालत परिसरमा फैसला प्रभावित पार्ने र पार्न नदिने समूहको उल्लेख्य उपस्थिति थियो । ०६४ चैत ९ मा साविक हथिहवा गाविस–३ का शिवपूजन कुर्मीको हत्या भएको थियो । ओमप्रकाश चौधरीको जाहेरीमा दर्ता भएको मुद्दा ०७६ असार २२ मा मुल्तबीबाट जगाइएको थियो । ०६४ फागुन ६ मा साविक मोतीपुर गाविस–१ का भुवन भनिने प्रेम परियारको गोली हानी हत्या भएको थियो ।

शान्ति परियारको जाहेरीमा उक्त मुद्दा ०७५ असार २५ मा मुल्तबी जगाई अदालती प्रक्रिया सुरु गरिएको थियो । ०६५ कात्तिक ७ मा साविक पिपरा गाविसका तत्कालीन सचिव राममिलनप्रसाद गुप्ता र ०६७ वैशाख १३ मा साविक पकडी गाविस–६ का राजेन्द्रप्रसाद तिवारीको हत्या भएको थियो । कुर्मी, परियार, गुप्ता, तिवारीको हत्याको आरोप खानमाथि थियो । यीसँगै सरिता विकले जाहेरी दिएको कर्तव्य ज्यान मुद्दामा पनि उनले सफाइ पाएका छन् ।

गुप्ता र तिवारी हत्या मुद्दा गत साउन र भदौ अन्तिम साता मुल्तबी जगाएर प्रक्रिया अघि बढाइएको थियो । पारसनाथ कोहार जाहेरवाला रहेको कर्तव्य ज्यान मुद्दामा भने अदालतले खानलाई कसुरदार ठहर गरेको छ । तर उनलाई अदालतले सजाय सुनाउन बाँकी छ ।

कपिलवस्तु सीमा क्षेत्रमा खानको नामबाट निकै डर त्रास थियो । सीमा क्षेत्रमा हुने हत्या, अपहरण र फिरौती घटनामा संलग्नताका आरोपितविरुद्धको मुद्दा के हुन्छ भन्ने धेरैको चासो थियो । ६ मध्ये ५ मुद्दामा उनलाई सफाइ दिइएसँगै कपिलवस्तुमा आपराधिक घटनामा कहलिएकाहरूले पनि उन्मुक्ति पाउने देखिएको कानुन व्यवसायीले बताएका छन् ।

तत्कालीन माओवादी नेता शिवपूजन चौधरीको हत्या अभियोग लागेका सुखीनाथ पाण्डे (प्रितम) ०७६ पुस १७ मा अदालतमा हाजिर भई १० लाख धरौटीमा छुटेका थिए । पछि उच्च अदालतले थुनामै राख्नू भन्ने आदेश गरेपछि भने पाण्डे फरार छन् । अहिले पाण्डेसँगै जोडिएको मुद्दामा खानले सफाइ पाएका छन् । पाण्डे कांग्रेस कार्यकर्ता हुन् । उनकी श्रीमती सुधादेवी पाण्डे कांग्रेसबाट शुद्धोदन गाउँपालिका उपाध्यक्ष छिन् । त्यस्तै थुनामा रहेका हथिहवामा धर्मेन्द्रसिंह क्षत्रीले पनि कर्तव्य ज्यानका ३ मुद्दामा सफाइ पाएका छन् । सिंह अहिले कारागारमा छन् ।

खानलाई प्रहरीले ०७६ असार तेस्रो साता काठमाडौंको बानेश्वरबाट पक्राउ गरेको थियो । अहिले कारागारमा छन् । यीमध्ये अधिकांश मुद्दामा संलग्नताका आरोपित यशोधरा गाउँपालिका रंगपुरका श्रवणकुमार मौर्य (गुड्डु) थुनामा छन् । ०६५ मा पक्राउ परेका मौर्य ०८५ मंसिर ८ मा छुट्नेछन् । मुद्दा प्रक्रिया नपुर्‍याई फैसला हुँदा अस्वाभाविक देखिएको अधिवक्ता बृजेन्द्र चौधरीले बताए ।

एउटै प्रकृतिको एकै दिनको कर्तव्य मुद्दामा सरकारी वकिलको कार्यालयले सरकारी साक्षी बुझ्न अदालतलाई पत्र दिएको थियो । तर, अदालतले बुझ्न नमानेपछि उच्च अदालत बुटवल गएर रामधनी कुर्मीको जाहेरीमा चलेका मुद्दामा सरकारी साक्षी बुझ्न आदेश गराएको उनले बताए । ‘तर सरकारी साक्षीलाई नबुझेर फैसला गरिएकाले त्रुटि देखिएको छ,’ उनले भने । शिवपूजन हत्याको मुद्दाका आरोपितमध्येका पाण्डेलाई उच्च अदालतले पुर्पक्षका लागि थुनामा पठाए पनि सम्पत्ति रोक्का नगर्नुले फैसलामा चित्त बुझाउने ठाउँ नभएको अधिवक्ता चौधरीको जिकिर छ ।

खानकी श्रीमती फौजिया नसिम खान एमालेबाट लुम्बिनी प्रदेशसभामा समानुपातिक सांसद छिन् । खानले पनि २०६९ मा एमालेको पार्टी सदस्यता लिएका थिए । दुई वर्षअघि सीआईबीले काठमाडौंमा पक्राउ गरी उनलाई कपिलवस्तु पठाएको थियो ।

आगामी माघ २ देखि उच्च र जिल्ला अदालतमा समेत गोला प्रक्रियाद्वारा मुद्दाको पेसी तोक्ने निर्णय सर्वोच्च अदालतको पूर्ण बैठकले गरिसकेको छ । गोला प्रक्रियाद्वारा मुद्दाको पेसी निर्धारण गर्दा कुन मुद्दा कुन न्यायाधीशकोमा पर्छ भन्ने पहिल्यै यकिन हुँदैन । गोला तानेर मात्रै मुद्दा हेर्ने न्यायाधीश तोकिन्छन् । त्यसैले त्यस्तो प्रक्रिया सुरु हुनुअघि नै खानलाई जोगाउन राजनीतिक चलखेल गरेर मुद्दा हतारहतार फैसला गरिएको आरोप पीडित परिवारहरूको छ । खानलाई छुटाउन एमालेका लुम्बिनी प्रदेशस्तरीय नेताहरूले चलखेल गरेको र त्यसको प्रभाव फैसलामा देखिएको आरोप एक जना कानुन व्यवसायीले लगाए ।

खानलाई डाँका मुद्दामा ६ महिना कैद र १ लाख ९८ हजार रुपैयाँ जरिवाना भएको थियो । ०६५ सालमा सन्दीपकुमार गुप्ताको जाहेरीमा चलेको डाँका मुद्दामा जिल्ला अदालतले ०७२ मा उक्त फैसला गरेको थियो । सुरुमा खान उक्त मुद्दामा कारागार चलान भएका थिए । पछि कर्तव्य ज्यान मुद्दामा थुनामा रहे । सम्पन्न परिवारका खान सानैदेखि चतुर हुन् । विभिन्न आपराधिक घटनामा संलग्नताको आरोप लाग्न थालेपछि बच्न अनेक उपाय अपनाए ।

संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा (कौटिल्य) समूहमा गए । सरकार उनको समूहसँग वार्तामा थियो । त्यसपछि उनी वार्ता समिति सदस्य पनि बने । उनी सरकारका प्रतिनिधिसँग जिल्लाबाहिरका बैठकमा पटक–पटक वार्तामा पनि बसे । भूमिगत संगठनका नाम हराउँदै गएपछि उनी ठूलो दलमा पसे । उनी ०७२ वैशाख १२ मा एमालेमा प्रवेश गरेका थिए ।

(याे समाचार कान्तिपुर दैनिकबाट लिएकाे छ )

© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group