दलित समुदायका लागि छुट्टै निर्वाचन क्षेत्र आरक्षित गर्न जसपा अध्यक्ष उपेन्द्र यादवकाे सुझाव

जनकपुर — जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले दलित समुदायका लागि छुट्टै निर्वाचन क्षेत्र आरक्षित गर्नुपर्ने प्रस्ताव राखेका छन् । समाजवादी दलित मुक्ति सङ्गठनको राष्ट्रिय भेलालाई शनिबार जनकपुरधाममा सम्बोधन गर्दै अध्यक्ष यादवले वर्तमान राजनीतिक व्यवस्थामा दलित समुदायले निर्वाचन जित्न सक्ने अवस्था नरहेकाले छुट्टै निर्वाचन क्षेत्र आरक्षित हुनुपर्ने बताए ।

23-Upendra-Yadav

‘निर्वाचन निक्कै महँगो हुँदैगएको छ, यस्तो अवस्थामा दलित समुदायले निर्वाचन जित्न धेरै नै गाह्रो छ । प्रदेश नं २ मा एउटा पनि एक पनि दलित छैन, जसले ठूलो रकम खर्चेर निर्वाचन जित्न सक्छ, त्यसैले दलित निर्वाचन क्षेत्र आरक्षित हुनुपर्छ भन्ने हाम्रो भनाइ हो,’ अध्यक्ष यादवले भने ।

राजनीति र सरकारी निकायमा प्रतिनिधित्व हुँदा मात्र दलित समुदायले न्यायका लागि लड्न सक्ने भएकाले राजनीतिमा दलितको प्रतिनिधित्वका लागि निर्वाचन क्षेत्र नै आरक्षित गर्नुपर्ने उनको भनाइ थियो ।

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले दलित समुदायको उत्थान र विकासमा प्रदेश सरकारले प्रगतिशील कार्य अघि बढाएको बताए । समाजिक उत्पीडन र विभेदमा परेका दलित समुदायको उत्थानका लागि प्रदेश सरकारले दलित सशक्तिकरण विधेयक ल्याइसकेको भन्दै उनले विधेयक कार्यान्वयनपछि प्रदेशमा दलित समुदायको प्रतिनिधित्व उत्साहजनक रुपमा बढ्ने दाबी गरे ।

प्रदेश सरकारले ल्याएको विधेयकले दलित समुदायको पालिकादेखि प्रदेशको हरेक निकायका साथै प्रशासनिक क्षेत्रमा दलित समुदायको जनसङ्ख्याको आधारमा सहभागिता हुने उनको भनाइ छ । साथै प्रदेश सरकारले दलित समुदायको पक्षमा अन्य कार्यक्रम ल्याउन लागेको पनि उनले बताए ।

© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group