अध्यक्षमा २, उपाध्यक्षमा ७ र सचिवमा ९ जनाको उम्मेदवारी

काठमाडौँ — एमालेको दशौं महाधिवेशनमा अध्यक्षमा २, उपाध्यक्षमा ७ र सचिवमा ९ जनाको उम्मेदवारी दर्ता भएको छ । सोमबार दशौं महाधिवेशनको बन्दसत्र स्थलमा रहेको केन्द्रीय निर्वाचन कार्यालयमा पुगेर अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष पदमा र भीम रावलले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन्  ।

फाेटाे कान्तिपुर दैनिकबाट लिएकाे

उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, विष्णु पौडेल, सुवास नेम्वाङ र घनश्याम भुसालले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै, सचिवमा भीम आचार्य टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा,लेखराज भट्ट, रघुवीर महासेठ, योगेश भट्टराई, गोकर्ण विष्ट, पद्मा अर्याल र टंक कार्कीको उम्मेदवारी परेको छ ।

यसअघि ओलीले आइतबार राति बन्दसत्रमा ३०१ जना केन्द्रीय सदस्य र पदाधिकारीको सूची पेस गरेका थिए । ओलीले विष्णु पौडेललाई उपाध्यक्ष र शंकर पोखरेललाई महासचिवमा प्रस्ताव गरेका छन् । अध्यक्ष ओलीले आइतबार मध्यरातसम्म सहमतिको कोसिस गरे पनि लोकतान्त्रिक प्रक्रियाभन्दा बाहिर गएर भएको निर्णयमा आफ्नो असहमति रहने भन्दै रावलले विधि र प्रक्रियाको कुरा उठाएपछि ओलीको सर्वसम्मत बन्ने प्रयासमा धक्का लागेको हो ।

एमालेको १० औं महाधिवेशनको बन्दसत्रमा सर्वसम्मतिका लागि भन्दै वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेललाई प्रस्ताव गरिएको छ । पार्टीभित्र भीम रावल, घनश्याम भुसाल लगायतका नेताहरूको विरोधकाबीच अध्यक्ष ओलीले दिनभरको गृहकार्यपछि प्रस्ताव ल्याएका हुन् । ईश्वर पोखरेल एमालेको दुई कार्यकाल महासचिव भएका थिए । शंकर पोखरेल यसअघिको महाधिवेशनमा उपमहासचिवमा हारेका थिए । एमाले सचिव भइसकेका छन् । उनी लुम्बनी प्रदेशका पूर्व मुख्यमन्त्री पनि हुन् ।

सहमतिका लागि ल्याएको प्रस्तावमा पूर्व माओवादी पक्षका रामबाहादुर थापा उपाध्यक्ष सहित टोपबहादुर र लेखराज गरी ३ जना परेका छन् । वरिष्ठ उपाध्यक्षमा सुवासचन्द्र नेम्बाङ र ईश्वर पोखरेल र महासचिवमा विष्णु पौडेल र शंकर पोखरेलमध्ये कसलाई बनाउने भन्नेबारे गलफत्ती परेको थियो । दुवैजना ओलीका विश्वासपात्र भएकाले उनीहरूमध्ये पौडेल उपाध्यक्षमा र पोखरेल महासचिवमा बस्न तयार भएका हुन् ।

© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group